
काठमाडौं । जेन–जी पुस्ताको क्रान्तिले पूरानो सत्ता ढालिदिएको छ । नवनियुक्त प्रधानमन्त्री सुशिला कार्कीको काँधमा आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने जिम्मेवारी छ । प्रधानमन्त्री कार्कीको पहिलो निर्णय नै प्रतिनिधिसभा विघटनको लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिश रहेको थियो ।
जुन राष्ट्रपतिले हिजो नै अनुमोदन गरिदिएका छन् । प्रधानमन्त्री कार्कीलाई शुभकामना ओईरहेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत शुभकामना दिइसकेका छन् । प्रधानमन्त्री कार्कीले भने भोलिबाट कार्यभार सम्हाल्ने बताईएको छ । उनले भोलि नै मन्त्रिपरिषद् पनि विस्तार गर्ने भनिएको छ । भदौ २३ गतेको जेन–जीको प्रदर्शनमा केपी ओली नेतृत्वको सरकारले निर्मम दमन गरेपछि १९ जना युवाहरुको ज्यान गएको थियो । त्यसको भोलिपल्ट भदौ २४ गते आन्दोलनले उग्र रुप लियो । केपी ओली, प्रचण्ड, माधव नेपाल, झलनाथ खनाललगायतका पूराना नेताहरुको भागाभाग चल्यो ।
नेपाली सेनाको सुरक्षा घेराभित्र रहेर उनीहरुले ज्यान जोगाए । नेताहरुको घर खरानी भएका छन् । पार्टी कार्यालय ध्वस्त भएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजुमाथि युवाले कुटपिट नै गरेको भिडिओ सार्वजनिक भएको छ । उनीहरुले मुस्किलले ज्यान जोगाए । अहिलेपनि देउवा दम्पत्ति उपचारमा छन् । मुलुक नयाँ युगमा प्रवेश गरेको छ । सुशिला कार्कीलाई प्रथम महिला प्रधानमन्त्रीको रुपमा पाईसकेको छ ।
तर, जेन–जी आन्दोलनको कारण विस्थापित भएका पूराना दलका शीर्ष नेताहरु अझै सार्वजनिक हुन सकेका छैनन् । कांग्रेस महामन्त्री गगन थापाले दुई पटक भिडिओ सन्देश जारी गरे । माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पनि भिडिओ सन्देश जारी गरेका छन् । आज कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि भिडिओ सन्देश जारी गरेका छन् । एमालेका सचिव योगेश भट्टराई पनि आज फेशबुक भिडिओमा देखिएका छन् ।
उनीहरुले सच्चिने प्रण गरेका छन् । तर, पूराना दलका शीर्ष नेताहरु भने अझै सार्वजनिक हुन सकेका छैनन् । उच्चस्रोतकाअनुसार उनीहरुले आजबाट आफ्नो मोवाईल फोन हात पारेको बताईन्छ । यो बीचमा उनीहरुको सम्पर्क–सूत्र टुटेको थियो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि आजबाट आफ्नो फोन हात पारेको बताईन्छ । उनले आजबाट सम्पर्क बढाएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग एमालेका दोस्रो तहका नेताहरु नियमित सम्पर्कमा रहेको बताईन्छ ।