
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल संसद् विघटन गर्न सहमत भएका छन् । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै बेलुकी सरकार प्रमुख बनाउने गरी सहमति जुटेको हो ।
शुक्रबार दिनभर भएको छलफलपछि कार्कीलाई सरकारको नेतृत्व सुम्पिएपछि मात्रै प्रतिनिधिसभा विघटन गर्ने अडानमा रहेका राष्ट्रपति पौडेल पछि हटेका हुन् ।
आन्दोलनमा रहेका केही युवाले तत्काल आन्दोलनकारी बोलाएर शितलनिवास घेर्ने चेतावनी दिएपछि आफूले थेग्न नसकेको भन्दै पौडेलले प्रमुख दलका शीर्ष नेताहरुलाई आफूले प्रतिनिधिसभा विघटनको निर्णय गर्न लागेको र त्यसलगत्तै सुशीला कार्कीलाई प्रधानमन्त्रीमा शपथ गराउने तयारी गरेको स्रोतले बतायो ।
अहिले शीतलनिवासमा प्रतिनिधिसभा विघटनको निर्णयको मस्यौदा, पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने नियुक्तिपत्रको मस्यौदा गर्ने लगायतका काम भइरहेको स्रोतको भनाइ छ ।
सुशीला कार्कीलाई आजै राति ८:४५ मा शपथ खुवाउने तयारी छ ।
नयाँ नियुक्त हुने प्रधानमन्त्रीलाई सिंहदरबारमा नयाँ बनेको गृह मन्त्रालयमा राखिने तयारी भैसकेको छ । कर्मचारीले सिंहदरबारमा कुर्सी, फर्निचरलगायतका सामानको बन्दोबस्ती गरिसकेका छन् ।