२७ भाद्र २०८२, शुक्रबार

‘गोरे’ कारागार फर्किए

gore
फाइल फोटो

जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार रहेका चुडामणि उप्रेती (गोरे) कारागार फर्किएका छन् ।

गोरे सुन तस्करीमा संलग्न व्यक्ति हुन् । उनी जेनजीको आन्दोलनका क्रममा मंगलबार कारागारबाट भागेका थिए । गृह प्रशासनले कारागारबाट फरार रहेका सबै कैदीबन्दीलाई कारागार फर्कन उर्दी जारी गरेसँगै गोरे फरार भएको तेस्रो दिन सुन्धारास्थित केन्द्रीय कारागार आएका हुन् ।

गोरे साढे ३८ क्वीन्टल सुन काण्डमा जोडिएका थिए । मोरङ, उर्लाबारीका सनम शाक्यको हत्याको अनुसन्धानका क्रममा प्रहरीले ९ माघ २०७४ मा दुबईबाट आएको साढे ३३ किलो सुन हराएपछि भरियाका रुपमा प्रयोग भएका उनको हत्या भएको पत्ता लगाएको थियो ।

न्यायाधीश भरत लम्सालको इजलासले १९ असोज २०७८ मा सनम शाक्य हत्या अभियोगमा गोरेसहित ६ जनालाई जन्म कैदको फैसला सुनायो । एक जनालाई ३ वर्ष र अर्का एक जनालाई ६ महिना कैदको सजाय सुनाइएको थियो ।

गोरेसँगै फरार भएका नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी भने सम्पर्कविहीन छन् ।

प्रशासनले कारागार नफर्किए कानुन अनुसार सशक्त कारबाही गर्ने चेतावनी दिएको छ।

सुन्धारा कारागारबाट मात्रै ३३ सय कैदी फरार भएका थिए । कारागारमा रहेका ३८ सय कैदीबन्दी मध्ये ५ सय मात्रै कारागारमा बसेका थिए ।

    सम्बन्धित समाचार...