काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशमलाल चौधरीले जेन–जी पुस्तालाई आफैं नेतृत्व लिन सुझाव दिएका छन् । उनले जेन–जी पुस्ता देश हाँक्न सक्षम रहेको बताउँदै आफैं नेतृत्व लिएर प्राप्त उपलब्धीको रक्षा गर्न भनेका छन् । नेता चौधरीले जेन–जी आन्दोलनले गरेको परिवर्तन प्रसंसनीय रहेको पनि उल्लेख गरेका छन् । तर, प्राप्त उपलब्धिको निर्देशक नभएको उनको टिप्पणी छ । ‘मेरो विचारमा तपाईहरु देश हाँक्न सक्षम हुनुहुन्छ । आफै नेतृत्व लिनुहोस् र प्राप्त उपलब्धिको रक्षा गर्नुहोस्,’– चौधरीले भनेका छन् ।
साथै, उनले जेन–जीलाई आन्दोलन गर्दा उठाइएका विषय अहिले थाति राख्नसमेत आग्रह गरेका छन् । विगतका कर्मचारी र अहिलेका पालिका प्रमुखसंग हारगुहार गरेर लक्ष्य प्राप्त गर्न नसकिने उनको भनाइ छ । तोकेका निहित विषयलाई आधार बनाएर मुलुकको शून्यताको अन्त्य गर्न उनले जेन–जी पुस्तालाई सुझाव दिएका छन् ।
नेता चौधरीले धेरै नेताले बुँदात्मक सुझाव दिइराखेको बताउँदै आफूले भने विगतमा लागू नगरेको भन्दै आक्रोश गरेका छन् । पुराना नेतालाई अहिले यसो गर, उसो गर भन्ने कुनै नैतिक अधिकार नरहेको उनको भनाइ छ । उनले जेन–जी मध्येबाट एकजना प्रधानमन्त्री भइहाल्न र त्यसलाई संवैधानिक बनाउने काम राष्ट्रपतिको रहेको बताएका छन् ।