२६ भाद्र २०८२, बिहीबार

नयाँ सरकारको नेतृत्वका लागि जंगीअड्डामा आज निर्णायक वार्ता

zenz

काठमाडौं । जेनजी समूह र नेपाली सेनाबीच आज निर्धारित भएको भनिएको वार्ता अनिश्चित बनेको छ।

बुधबार समूह नेतृत्वको विषयमा आन्तरिक विवाद चर्किएपछि औपचारिक छलफल अघि बढ्न सकेको थिएन। सेनाले प्रतिनिधिलाई जंगी अड्डाबाहिर फर्काएर “ग्रुप लिडरको नाम र सम्पर्क नम्बरसहित आउनू” भन्दै स्पष्ट निर्देशन दिएको थियो।

जेनजी समूहभित्र पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई नेतृत्व दिनुपर्ने भन्ने मत र धरानका मेयर हर्क साम्पाङलाई अघि सार्ने अर्को धारबीच मतभेद देखिएको हो। विवादपछि सेनाले एक जना संयोजक टुंगो लगाएर मात्रै वार्तामा आउन आग्रह गरेको थियो।

यसक्रममा, समूहको ठूलो खेमाले सुशीला कार्कीको नाम अघि सारेको छ। काठमाडौं महानगरका मेयर बालेन शाहले पनि कार्कीलाई समर्थन जनाएका छन्। कार्कीले प्रस्तावप्रति सकारात्मक प्रतिक्रिया दिए पनि “प्रक्रियागत स्पष्टता” नहुँदासम्म वार्तामा बस्ने वा नबस्ने विषय खुला राखेकी छन्।

उनको नजिकको स्रोतका अनुसार, संसद् विघटन नभइसकेको अवस्थामा जंगी अड्डामा वार्ता गर्नु प्रक्रियागत रूपमा उपयुक्त हुन्छ कि हुँदैन भन्ने प्रश्न अझै अनुत्तरित छ। “सेनाले दिने, अरूले लिनेजस्तो देखिने अवस्था प्रक्रियासँग मिल्दैन,” स्रोतले भन्यो।

त्यसैले आजै औपचारिक वार्ता हुने/नहुने अन्योल कायम छ।

    सम्बन्धित समाचार...