
फाइल फोटो
रामेछाप । बिहीबार बिहान रामेछाप कारागार तोडेर भाग्ने प्रयास गर्ने कैदीमाथि गोली प्रहार गर्दा दुई जनाको मृत्यु भएको छ।
प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार कैदीबन्दीहरूले विभिन्न च्यानलका ताल्चा फोडी बाहिर निस्कने प्रयास गर्दा नेपाली सेनाले नियन्त्रणमा लिन गोली चलाएको हो। घटनामा एकजना कैदी गम्भीर घाइते भएका छन् भने अन्य १० जना सामान्य घाइते भएका छन्।
“सम्झाउँदा नबुझेपछि र बलजफ्ती निस्कन खोजेपछि मात्र गोली चलाउन बाध्य भयौं,” प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिए।
घाइतेहरूको रामेछाप अस्पतालमा उपचार भइरहेको छ। अहिले कारागार पूर्ण रूपमा नियन्त्रणमा लिइसकेको प्रशासनले जनाएको छ।
उक्त कारागारमा हाल १६ महिला र ३१८ पुरुष गरी कुल ३३४ जना कैदी रहेका छन्।