१६ कार्तिक २०८२, शनिबार

रवि लामिछानेको रिहाइपछि कारागारमा सल्किँदै आगो- एकपछि अर्को वितण्डा मच्चाउँदै, कैदी भाग्दै

rabi

काठमाडौं । मंगलबार नख्खु कारागारबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रिहा गरिएपछि एकपछि अर्को कारागारहरूमा आगो सल्किरहेको छ । रविलाई कारागारबाट निकालिएपछि नख्खुसहित देशभरका कारागारमा कैदीहरूले तोडफोड तथा आगजनी गर्दै भागिरहेका छन् ।

‘जेन–जी’ आन्दोलनबाट सिर्जना भएको संकटको फाइदा उठाउँदै पूर्व गृहमन्त्री समेत रहेका लामिछानेलाई रिहा भएपछि देशभरका कारागारहरूबाट हजारौँ कैदी बन्दीहरू भागेका छन् । उनको रिहाइपछि देशव्यापी रूपमा कारागार विद्रोहको आगो सल्काएको छ ।

बुधवार बिहानैदेखि डिल्लीबजारस्थित कारागार कार्यालय तनावग्रस्त बन्यो । केही कैदीबन्दी भाग्न खोजेपछि बुधवार बिहानैबाट त्यहाँको स्थिति तनावग्रस्त भयो ।

प्रहरीले मंगलबार नै ड्युटी छोडेदेखि त्यहाँका कैदीबन्दीको दुई समूह बन्यो । एकथरिले तत्काल निस्कने प्रयास गरिरहेका थिए भने अर्काथरिले त्यसो गर्न हुँदैन भनिरहेका थिए । हिजो मंगलबार बिहानसम्म त्यहीँ रहेका प्रशासन प्रमुख भुवन रेग्मीका अनुसार प्रहरीको अनुपस्थितपछि कारागारका नाइके–भाइ नाइकेले भाग्न खोज्नेलाई सम्हालिरहेका थिए ।

आज बुधवार बिहानदेखि भाग्न चाहनेले नै होहल्ला गरेपछि सेना पुगेको हो । यद्यपि, अहिले त्यहाँ जेलर, प्रशासन प्रमुखसहित कोही पनि कर्मचारी छैनन् । कैदीबन्दीले भित्र होहल्ला र आगजनी गरे । सेनाले हाई अलर्ट पोजिसन लिएपछि कैदीबन्दी पछाडि हटे । उनीहरूलाई सेना ‘सुरक्षित स्थान’ भन्दै अन्यत्र लिएर गएको छ ।

भाग्न नहुने पक्षका बन्दी भने त्यहीँ छन् । तीमध्ये विभिन्न क्षेत्रमा नाम चलेका व्यक्ति रहेका छन् । त्यहाँ बैंकिङ ठगीका बन्दीहरू कमल ज्ञवाली, इच्छाराज तामाङ, सहकारी ठगीका केबी उप्रेती, यामबहादुर मल्ल, गुण्डा नाइके दीपक मनाङे, तत्कालीन कोशी प्रदेशसभाका सचिव गोपाल पराजुली, पृथ्वी मल्ललगायतका छन् ।

तर, देशभरका विभिन्न स्थानबाट कैदीबन्दी भागेका छन् । मंगलबार साँझ तुलसीपुर कारागारबाट १ सय २५ जना कैदी निस्किएर भागे । भागेकामध्ये ९७ जना कैदीलाई नियन्त्रणमा लिएर सेनाले कारागारमा बुझाएको छ ।

नख्खुबाट सुरू भएको कारागार विद्रोहको शृङ्खला अझै मत्थर हुन सकेको छैन । देशभर नेपाली सेना परिचालन गरिए पनि कारागारमा रविको रिहाइपछि कैदीबन्दीहरूप्रति असन्तुष्टि बढेको पाइएको छ । रवि बसेको नख्खु कारागार रित्तिएको छ ।

त्यसबाहेक कपिलवस्तु कारागारबाट ४ सय कैदीबन्दी भागेका छन् भने सिन्धुलीबाट सयौँको सङ्ख्यामा कैदी निस्किएका छन् । डोटीको बाल सुधार गृहबाट ५२ जना भागेका छन् । सुनसरीको झुम्का जेलबाट अधिकांश कैदी भगाइयो । मोरङ कारागारबाट पनि कैदी भगाउन खोजिएपछि नेपाली सेनाले हवाई फायरसम्म गर्‍यो ।

विराटनगरका बाल सुधार गृहबाट २ सय बढी भागेका छन् । सोही बराबरको सङ्ख्या रौतहट कारागारबाट पनि कैदी भागेका छन् । यस्तै बझाङबाट ६५ कैदीबन्दी भागेका छन् भने कपिलवस्तुबाट ४ सय बढी भागेका छन् ।

नेपालगन्जको नौवस्तास्थित बाल सुधार गृहमा झडप हुँदा पाँच जनाको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन् । नौवस्ता कारागारका प्रमुख जालन्धर भुसालका अनुसार बालबिज्याईकर्ता गेट फोरेर बाहिर निस्कन खोज्दा भएको झडपमा उनीहरूको मृत्यु भएको हो । कारागारमा रहेका ५८५ मध्ये १४९ जना र बाल सुधार गृहबाट ७६ जना भागेका छन् ।

देशभरबाट कति कैदी फरार भए भन्ने यकिन तथ्यांक छैन । तर, कारागाभित्रैबाट भाग्नै प्रयास गर्दै कैदीहरूले विद्रोह गरिरहेका घटना एकपछि अर्को गर्दै सार्वजनिक भइरहेका छन् ।

    सम्बन्धित समाचार...