
फिल्मी दुनियाँमा कलाकारको प्रेम र ब्रेकअप सामान्य मानिन्छ । यतिबेला अभिनेता सलिनमान बनियाँको ब्रेकअप र नयाँ प्रेम सम्बन्धको चर्चा चलिरहेको छ । ‘ए मेरो हजुर २’बाट फिल्ममा डेब्यु गर्नुभन्दा अगावैदेखि उनी प्रोफेसनल मेकअप आर्टिस्ट अस्प्रिना जिन्हा श्रेष्ठसँग प्रेम सम्बन्धमा थिए । उनीहरू चाँडै विवाह गर्ने मनस्थितिमा समेत थिए । तर, अब उनीहरूको ब्रेकअप भएको छ ।
सलिनमान र अस्प्रिनाले प्रेम सम्बन्धमा हुँदा एकअर्कासँगका थुप्रै रोमान्टिक तस्वीरहरू इन्स्टाग्राममा सेअर गरेका थिए । अझ बढी सलिनले । अहिले दुवैको इन्स्टा हेर्ने हो भने ती कुनै तस्वीर भेटिँदैन । उनीहरूले एकअर्कालाई अनफलो समेत गरेका छन् । यसले पनि उनीहरूको प्रेम सम्बन्ध टुंगिएको पुष्टि गर्छ । प्राप्त जानकारी अनुसार उनीहरूको ब्रेकअप भएको १ वर्ष बढी भइसकेको छ ।
अस्प्रिनासँग ब्रेकअपपछि यतिबेला सलिनमान पूर्वमिस नेपाल तथा अभिनेत्री नम्रता श्रेष्ठसँग प्रेममा रहेको गाइँगुइँ चर्चा फिल्म क्षेत्रमा चलिरहेको छ । आइतबार बेलुका त्रिभुवन विमानस्थलमा देखिएको एक दृश्यले उनीहरूबारे चलेको चर्चालाई थप मलजल गरेको छ । भारतबाट फर्किएकी नम्रतालाई लिन सलिनमान एक्लै विमानस्थल पुगेका थिए । र, त्यहाँबाट उनीहरू सँगै बाहिरिएका थिए ।
आइतबार साँझ भारतबाट आएकी अभिनेत्री निरूता सिंहको अन्तर्वार्ता लिन पुगेका पत्रकारहरूले सलिनमान र नम्रता एकसाथ विमानस्थलबाट बाहिरिएको तस्वीर खिचेका थिए । जहाँ उनीहरू दुवैले मास्क लगाएको देख्न सकिन्छ । यो तस्वीर बाहिरिएपछि उनीहरू प्रेम सम्बन्धमा रहेको चर्चा झनै चुलिएको छ । अब यस विषयमा उनीहरूको भनाइ के आउँछ, त्यो प्रतीक्षाको विषय हो ।
फिल्म ‘रंगी’ निर्माणको समयदेखि सलिनमान र नम्रताबीच निकटता बढेको बताइन्छ । यही फिल्मबाट नम्रताले डेब्यु गरेकी थिइन् । ‘रंगी’का निर्माता तथा अभिनेता सलोन बस्नेत घनिष्ट साथी भएकाले सलिन फिल्मको सुटिङमा पुगिरहेका हुन्थे । त्यही बेला उनीहरूबीच चिनजान भएर भेटघाट बाक्लिएको थियो । उनीहरूले एकअर्कालाई डेट गर्न थालेको ४ महिना जति भएको चर्चा छ ।