२२ आश्विन २०८२, बुधबार

लोकप्रिय गायक पशुपति शर्मा कार दुर्घटनामा, भाँचियो औंला

Pashupati Sharma

लोकप्रिय लोकगायक पशुपति शर्मा सवार कार बुधबार स्याङ्जामा दुर्घटनामा परेको छ । सिद्धार्थ राजमार्गअन्तर्गत भीरकोट नगरपालिका–२ मा उनी सवार ग १ च ४१७१ नम्बरको कार अनियन्त्रित भई कल्भर्टमा ठोक्किन पुग्दा शर्मा सामान्य घाइते भएका छन् ।

सांगीतिक कार्यक्रमका लागि पोखराबाट वालिङतर्फ जाने क्रममा उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । दुर्घटनामा गायक शर्माको देब्रे हातको एउटा औला भाँचिएको छ।

कारमा शर्मासहित लोकगायक शिव हमाल र घनश्याम रिजाल लगायत चार जना सवार थिए । दुर्घटनामा अन्य सबैजना सकुशल रहेको र कारमा सामान्य क्षति पुगेको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनापछि गायक शर्माले आफ्नो अवस्था सामान्य रहेको बताएका छन् । उनले भने, “ग्रह कट्यो । सामान्य चोट मात्र लागेको हो । घाँस काट्दा हात काटेजस्तो हो । नर्मल एक्सिडेन्ट हो, स्लिप खाएको हो ।” गायक शिव हमालले पनि कार स्लिप खाएर सामान्य दुर्घटना भएको जानकारी दिएका छन् ।

    सम्बन्धित समाचार...