
काठमाडौं । नेपाली महिला फुटबल टिम एएफसी महिला एसियन कप २०२६ को छनोट चरणबाट बाहिरिएको छ। बुधबार उज्बेकिस्तानको राजधानी ताशकन्दमा भएको तेस्रो तथा अन्तिम खेलमा घरेलु टोली उज्बेकिस्तानसँग टाइब्रेकरमा ४–२ ले पराजित भएसँगै नेपाल एसियन कपमा छनोट हुनबाट वञ्चित भएको हो ।
निर्धारित समयसम्मको खेल ३–३ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो। टाइब्रेकरमा उज्बेकिस्तानका चार खेलाडीले गोल गर्दा नेपालका तर्फबाट दुई जनाले मात्र गोल गर्न सके।
पहिलो हाफमा ३–१ ले पछि परेको नेपालले दोस्रो हाफमा शानदार कमब्याक गर्दै खेल बराबरीमा ल्याएको थियो। खेलको सुरुवातमै उज्बेकिस्तानले आक्रामक खेल देखायो। दोस्रो मिनेटमै खाबिबुलेएभाले गोल गर्दै उज्बेकिस्तानलाई सुरुवाती अग्रता दिलाइन्।
१२औं मिनेटमा नेपालले दोस्रो गोल खान पुग्यो। उज्बेक कप्तान लिउडमिला कराचिकको क्रस समिक्षा घिमिरेको खुट्टामा लागेर आत्मघाती गोलमा परिणत भयो।
२४औं मिनेटमा नेपाली कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले गोल फर्काइन्। गोलकिपर अन्जना राना मगरको लामो किकमा उज्बेक किपर मातफुनाको त्रुटि भयो। रश्मि कुमारी घिसिङले हेडरमार्फत पास दिएकी थिइन्, जसलाई साम्बाले करिब २५ यार्डबाट उत्कृष्ट प्रहार गर्दै गोलमा परिणत गरिन्। त्यो साम्बाको ६५औं अन्तर्राष्ट्रिय गोल हो।
तर ३७औं मिनेटमा सरस्वती हमालको ह्यान्डपछि उज्बेकिस्तानले पेनाल्टी पायो र मातफुना सोयीमोभाले सहजै गोल गरिन्। यसले उज्बेकिस्तानलाई ३–१ को अग्रता दिलायो।
पहिलो हाफको इन्ज्युरी समयमा उज्बेक खेलाडी नोजिमाखोन इर्गासेबा दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि उज्बेकिस्तान १० खेलाडीमा सीमित भयो। दोस्रो हाफमा संख्यात्मक फाइदा उठाउँदै नेपालले आक्रामक खेल प्रदर्शन गर्यो।
७१औं मिनेटमा नेपालले दोस्रो गोल फर्कायो र ७२औं मिनेटमै साम्बाले पुनः गोल गर्दै खेल ३–३ मा बराबरीमा ल्याइन्। उनको यो दोस्रो गोलसँगै नेपाल खेलमा फर्किएको थियो।
तर पेनाल्टी सुटआउटमा नेपालले अपेक्षित प्रदर्शन गर्न सकेन। उज्बेकिस्तानका माफतुना सोयीमोभा, उमिदा जोइरोभा, मदिना खिमातोभा र असलखोन अमिनजोनाभाले गोल गरे। नेपालका तर्फबाट गीता राना र साविता राना मगरले मात्र गोल गर्न सके। कप्तान साम्बाको प्रहार पोस्टमा लागेर फर्कियो भने गोलकिपर अन्जना राना मगरको प्रहार किपरले बचाइन्।
यो हारसँगै नेपाल एएफसी महिला एसियन कप २०२६ को छनोटबाट बाहिरिएको छ। साथै, नेपाल महिला टोली ओलम्पिक र विश्वकप छनोटका दौडबाट पनि बाहिरिएको छ।
यद्यपि खेलमा देखिएको आत्मविश्वासपूर्ण पुनरागमनले नेपाली महिला टिमको लडाइँ क्षमता झल्किएको छ। यसले भविष्यमा अझ बलियो टोलीको सम्भावना संकेत गरेको छ।