
काठमाडौं । इरानले कतारको दोहामा रहेको अमेरिकी सैन्य अड्डा ‘अल उदैद एयर बेस’मा मिसाइल आक्रमण गरेको दाबी गरेको छ। इरानी सरकारी टेलिभिजनमार्फत प्रसारण गरिएको सन्देशमा “अमेरिकाको आक्रमणको जवाफमा शक्तिशाली र सफल कारबाही” गरिएको उल्लेख गरिएको बेलायती समाचार संस्था द गार्डियनले जनाएको छ।
आक्रमणको पुष्टि गर्दै कतारले यसलाई आफ्ना सार्वभौमिकताको उल्लंघन भएको बताएको छ। कतारको परराष्ट्र मन्त्रालयका प्रवक्ता माजेद अल-अन्सारीले इरानी रिभोल्युशनरी गार्डद्वारा गरिएको हमलाप्रति विरोध जनाउँदै यसमा अन्तर्राष्ट्रिय कानुनअनुसार आवश्यक जवाफ दिने चेतावनी दिएका छन्।
कतारले केही दिनअघि सुरक्षाका कारण हवाई क्षेत्र अस्थायी रूपमा बन्द गर्ने निर्णय गरेको थियो। अमेरिकी पक्षले आक्रमणको जानकारी रहेको बताउँदै अध्ययन भइरहेको जानकारी दिएको छ। साथै, अमेरिकी दूतावासले आफ्नो नागरिकलाई सतर्क रहन आग्रह गरेको छ।
यसैबीच, इरानले इराकस्थित अमेरिकी सैन्य अड्डामा पनि मिसाइल आक्रमण गरेको दाबी गरेको छ। इरानी समाचार संस्था तसनीमका अनुसार उक्त आक्रमण इरानी रिभोल्युशनरी गार्डले सञ्चालन गरेको थियो।
अमेरिकी आक्रमणपछि इरानको जवाफ
शनिबार अमेरिकी सेनाले इरानका नतान्ज, फोर्दो र एस्फाहान परमाणु केन्द्रहरूमा बंकर बस्टर बम प्रयोग गरेर आक्रमण गरेको थियो। यसपछि इरानले जवाफी कारबाहीको चेतावनी दिँदै अमेरिकी सैन्य अड्डाहरूमा हमला सुरु गरेको हो। राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रमणपछिको प्रतिक्रिया दिँदै अमेरिकी सेनालाई बधाई दिँदै “अब शान्तिको समय आएको” बताएका छन्।
इजरायल–इरान तनावको प्रभाव
इरान र इजरायलबीच जारी द्वन्द्व झनै चर्कंदो छ। इजरायलले १३ जुनदेखि इरानविरुद्ध सैन्य कारबाही सुरु गरेको थियो। इजरायली पक्षका अनुसार यस अवधिमा १० जना इरानी आणविक वैज्ञानिक, तीनजना वरिष्ठ सैन्य अधिकारी र चार सैनिक मारिएका छन्।
इरानका मुख्य युरेनियम संवर्धन केन्द्रहरूमध्ये नतान्जमा केही क्षति भएको तर फोर्दोमा उल्लेख्य क्षति नभएको जनाइएको छ। फोर्दो फ्युल इनरिचमेन्ट प्लान्ट करिब ८० मिटर गहिराइमा भूमिगत रुपमा निर्माण गरिएको केन्द्र हो, जहाँ युरेनियमलाई ६० प्रतिशतसम्म संवर्धन गरिन्छ। यो मात्र ९० प्रतिशतको सीमाबाट थोरै टाढा हो, जुन आणविक बम निर्माणको स्तर मानिन्छ।