
काठमाडौं । लामो समयदेखि चर्चामा रहेको फिल्म ‘ए मेरो हजुर ५’मा अन्ततः अभिनेता अनमोल केसी फाइनल भएका छन् । निर्देशक झरना थापा र निर्माता सुनिल कुमार थापाको यस सिरिजमा यसअघि अभिनेता पल शाहसँग सहकार्य हुने चर्चा चले पनि अब त्यो सम्भावना टरेको छ ।
निर्माता थापाले सोमबार साँझ अनमोलसँग औपचारिक सम्झौता गरेका छन् । अनमोलले पनि सामाजिक सञ्जालमार्फत फिल्ममा अनुबन्धित भएको पुष्टि गर्दै लेखेका छन्, “लामो विश्रामपछि अब नयाँ अध्यायको सुरुवात गर्दैछु । ‘ए मेरो हजुर ५’ सहित ‘जेरी अन टप’ र ‘बाटुलो जुन’ मार्फत दर्शकमाझ फर्किन पाउँदा उत्साहित छु ।”
निर्देशक झरना थापाले पनि फेसबुकमा अनमोललाई फिल्ममा स्वागत गर्दै लेखेकी छन्, “मेगास्टार अनमोल केसीलाई ‘ए मेरो हजुर ५’मा स्वागत छ । ‘ए मेरो हजुर ३’ र ‘४’पछि यो हाम्रो तेस्रो सहकार्य हो । यो यात्राले भविष्यमा पनि निरन्तरता पाओस् भन्ने विश्वासका साथ फिल्म उत्कृष्ट बनाउन कुनै कसर बाँकी राख्ने छैनौं ।”
फिल्ममा अनमोलको जोडी अभिनेत्री सुहाना थापासँग बाँधिनेछ । उनीहरूले यसअघि पनि ‘ए मेरो हजुर ३’ र ‘४’ मा एकसाथ काम गरिसकेका छन् । फेरि एकपटक यो जोडी पर्दामा देखिन लागेपछि दर्शकहरू उत्साहित भएका छन् ।
‘ए मेरो हजुर ५’ को छायांकन आगामी असोजबाट सुरु हुने तयारीमा छ । छायांकनअघि अनमोलले ‘बाटुलो जुन’ र सुहानाले ‘परालको आगो’को छायांकन सकाउनेछन् ।