
काठमाडौं । स्कटल्याण्डमा जारी त्रिकोणात्मक टि-२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको अन्तिम खेलमा नेपाल घरेलु टोली स्कटल्याण्डसँग ३४ रनले पराजित भएको छ । शुक्रबार राति सम्पन्न खेलमा १९४ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याउने क्रममा नेपाली टोली १८.५ ओभरमै अलआउट हुँदै १५९ रनमा सीमित रह्यो ।
नेपालका लागि रुपेश सिंहले आक्रामक ब्याटिङ गर्दै २२ बलमा १ चौका र ३ छक्का प्रहारसहित ४३ रन जोडे । दीपेन्द्र सिंह ऐरीले ३४ रन (३३ बल, १ चौका, १ छक्का) बनाए भने कप्तान रोहितकुमार पौडेलले २० बलमा २७ रन (४ चौका) थपे । यद्यपि, अन्य ब्याटरहरूले उल्लेखनीय योगदान दिन सकेनन् । आसिफ शेखले १४, भीम सार्कीले १२ र आरिफ शेखले ५ रन बनाए ।
बलिङतर्फ स्कटल्याण्डका लागि क्रिस ग्रेभ्सले ३ विकेट लिँदा सफियान सरिफले २ विकेट लिए ।
त्यसअघि, टस जितेर पहिले ब्याटिङ रोजेको स्कटल्याण्डले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १९३ रनको सशक्त स्कोर बनाएको थियो । ओपनर जर्ज मन्सीले ३९ बलमा ५ चौका र ६ छक्का सहित ७८ रनको विस्फोटक इनिङ खेले । मन्सी कुशल भुर्तेलको बलमा कप्तान रोहित पौडेलबाट क्याच आउट भए ।
मन्सीले पहिलो विकेटका लागि मार्क वाटसँग ३४ रन तथा तेस्रो विकेटका लागि ब्रण्डन मकमलनसँग १ सय रनको ठुलो साझेदारी गरे । मकमलनले ३० बलमा ४ चौका र १ छक्कासहित ४२ रन बनाए । माइकल लिस्कले १७ बलमा २६ रन तथा म्याथ्यु क्रसले १३ बलमा अविजित १७ रन जोडे । कप्तान रिची बेंरिग्टन भने ९ रनमै आउट भए ।
नेपालका लागि कुशल भुर्तेलले २ विकेट लिँदा, सन्दीप लामिछाने, ललितनारायण राजवंशी र रुपेश सिंहले समान १/१ विकेट लिए ।
सिरिजको समापनसँगै स्कटल्याण्ड ४ खेलमध्ये २ जित र २ हारका आधारमा अंकतालिकाको शीर्ष स्थानमा रहँदै च्याम्पियन बन्न सफल भयो । समान २ जित र २ हारसहित नेपाल पनि बराबर अंकमा रहेपनि रनरेटमा पछि पर्दै दोस्रो स्थानमा सीमित रह्यो ।