
काठमाडौं । स्कटल्याण्डमा जारी त्रिकोणात्मक टि-२० अन्तर्राष्ट्रिय सिरिजमा नेपालले नेदरल्याण्ड्सलाई ६ विकेटले पराजित गर्दै प्रतियोगिताको शीर्ष स्थानमा स्थान बनाएको छ।
बिहीबार सम्पन्न खेलमा नेदरल्याण्ड्सले दिएको १७५ रनको लक्ष्य नेपालले १९.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो।
नेपालका ओपनर कुशल भुर्तेलले ५१ बलमा ६ चौकाको सहयोगमा ६५ रनको अर्धशतकीय इनिङ खेले। उनले ३८ बलमै अर्धशतक पुरा गरे। यो उनको टि-२० आई करियरको ११औं अर्धशतक हो। उनले टि-२० आईमा हालसम्म ६० खेल खेल्दै १ शतकसहित ११ अर्धशतक पूरा गरेका छन्। नेदरल्याण्ड्सविरुद्ध खेलिएको ९औं खेलमा यो उनको चौथो अर्धशतक हो।
कुशलले जीवनदान पनि पाएका थिए, जब ९.४ ओभरमा ४४ रनमा विक्रमजित सिंहको बलमा नोहा क्रोसबाट क्याच छुट्यो।
नेपालका अर्का ओपनर आसिफ शेख ६ बलमा ७ रनमा आउट भए। कुशलले दोस्रो विकेटका लागि डेब्यु खेल खेलिरहेका भीम सार्कीसँग ५४ रनको साझेदारी गरे। भीमले १६ बलमा २ चौका र १ छक्कासहित २७ रन बनाए। उनी नेपालको टि-२० आई खेल्ने ५२औं खेलाडी बनेका छन्। उनलाई उपकप्तान दीपेन्द्रसिंह ऐरीले डेब्यु क्याप हस्तान्तरण गरेका थिए।
कप्तान रोहितकुमार पौडेलले ७ बलमा ५ रन मात्रै बनाए। चौथो विकेटका लागि कुशल र आरिफ शेखले २७ बलमा ४४ रनको महत्त्वपूर्ण साझेदारी गरे। आरिफले २३ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ३९ रन बनाएपछि रिटायर्ड हर्ट भए।
त्यसपछि दीपेन्द्रसिंह ऐरी र आरिफ शेखबीच पाँचौं विकेटका लागि २० बलमा २७ रनको साझेदारी भयो। दीपेन्द्र १२ बलमा १६ रनमा अविजित रहे। अन्तिमतिर लोकेश बमले ४ बलमा १२ रनको विस्फोटक योगदान दिंदै छक्का प्रहारसहित नेपाललाई जित दिलाए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले २० ओभरमा ७ विकेट गुमाउँदै १७४ रन बनाएको थियो। ओपनर माइकल लेविटले ५३ बलमा ६ चौका र ५ छक्का प्रहार गर्दै ८६ रनको उत्कृष्ट अर्धशतकिय पारी खेले। उनी करण केसीको बलमा कप्तान रोहित पौडेलबाट क्याच भएका थिए।
लेविटले सकिव जुल्फिकरसँग पाँचौं विकेटका लागि ३३ बलमा ६३ रनको साझेदारी गरेका थिए। साझेदारीलाई सन्दीप लामिछानेले जुल्फिकरलाई ११ बलमा १४ रनमा आउट गर्दै तोडे।
अन्य योगदानमा रोइलेफ भान डर मिर्भोले २१ बलमा ३६ रन र आर्यान दत्तले १८ बलमा १७ रन बनाएर अविजित रहे। नेदरल्याण्ड्सका अन्य ब्याटरले दोहोरो अंक पार गर्न सकेनन्। नेपालका लागि करण केसीले २ विकेट लिए भने सन्दीप लामिछाने, रुपेस सिंह, ललितनारायण राजवंशी र दीपेन्द्रसिंह ऐरीले समान १-१ विकेट लिए।
यो जितसँगै नेपालले ३ खेलमा २ जित र १ हारका साथ ४ अंक बटुल्दै शीर्ष स्थानमा उक्लिएको छ। नेदरल्याण्ड्स पनि ४ अंकमै रहे पनि रनरेटका आधारमा दोस्रो स्थानमा छ भने स्कटल्याण्ड तेस्रो स्थानमा रहेको छ।
यसअघि सिरिजको पहिलो खेलमा नेदरल्याण्ड्सले सुपर ओभरमा नेपाललाई रोमाञ्चक पराजय दिएको थियो।
नेपाल अब सिरिजको अन्तिम खेल शुक्रबार स्कटल्याण्डसँग खेल्नेछ। डबल राउण्ड रोबिन लिगपछि सर्वाधिक अंक जोड्ने टोलीले उपाधि जित्नेछ।