
नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले त्रिकोणात्मक टि२० अन्तर्राष्ट्रिय सिरिजको तेस्रो खेलमा घरेलु टोली स्कटल्याण्डलाई २ विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। सिरिजमा पहिलो जित निकालेको नेपाल जितसँगै नेपाल अंक तालिकाको दोस्रो स्थानमा पुगेको छ। नेपाल, नेदरल्यान्ड्स र स्कटल्याण्ड तीनै टोलीको २-२ अंक रहेको छ।
मंगलबार डन्डीस्थित टिटवुड मैदानमा स्कटल्याण्डले दिएको ९८ रनको लक्ष्य नेपालले अन्तिम ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो। खेलको सुरुवातमै लगातार विकेट गुमाएको नेपाल दबाबमा परेको थियो। तर, कुशल भुर्तेलले सर्वाधिक ३० रनको योगदान दिँदै पारी सम्हाल्ने प्रयास गरे।
नेपालले तेस्रो ओभरमै लोकेश बम (९) र चौथो ओभरमा अनिल साह (३) को विकेट गुमायो। कप्तान रोहित पौडेल पनि ७ रनमै आउट हुँदा नेपाल ३८-३ को अवस्थामै थियो।
कुशल भुर्तेल १३ औं ओभरमा ३० रन बनाएर एलबीडब्लु भए। त्यसपछि दीपेन्द्र सिंह ऐरी (१४), बासिर अहमद (१३), रुपेश सिंह (६) र किरण ठगुन्ना (१०) सस्तैमा आउट भए।
जितका लागि ३ बलमा १ रन आवश्यक हुँदा किरण ठगुन्ना छक्का हान्ने प्रयासमा क्याच भए। अन्ततः करण केसी (३*) र सन्दीप लामिछानेले पहिलो बलमै सिंगल लिएर नेपाललाई जित दिलाए।
यसअघि टस जितेर बलिङ रोजेको नेपालका बलरहरुले उत्कृष्ट प्रदर्शन गरे। स्कटल्याण्ड १९.४ ओभरमा ९७ रनमै अलआउट भयो।
सन्दीप लामिछानेले ४ ओभरमा १ मेडन सहित ११ रन दिँदै ३ विकेट लिए। पावरप्लेपछि उनले स्कटल्याण्डको गति रोक्दै लगातार विकेट लिए।
करण केसी र दीपेन्द्र सिंह ऐरीले २-२ विकेट लिए भने ललित राजवंशीले १ विकेट लिए।
स्कटल्याण्डका लागि माइकल लिस्कले ४६ बलमा ४ चौका सहित ४४ रन बनाए। उनी अन्तिम ओभरमा दीपेन्द्र सिंहबाट बोल्ड भएका थिए।
नेपालले सिरिजको पहिलो खेलमा नेदरल्यान्ड्ससँग सुपर ओभरमा पराजय बेहोरेको थियो। स्कटल्याण्डले भने आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्सलाई ३९ रनले हराएको थियो।