
काठमाडौं । आइसिसी विश्वकप लिग–२ अन्तर्गत स्कटल्याण्डको डुन्डीमा बुधबार सम्पन्न खेलमा नेपालले नेदरल्याण्ड्सलाई ५ विकेटले पराजित गरेको छ।
नेदरल्याण्ड्सले दिएको २२५ रनको लक्ष्य नेपालले ४७.१ ओभरमा मात्र ५ विकेट गुमाउँदै भेट्टाएको हो। नेपालको जितमा आरिफ शेखले ७८ रनको उपयोगी इनिङ खेले भने उपकप्तान दीपेन्द्र सिंह ऐरीले नटआउट ३८ रन बनाए।
आरिफ र दीपेन्द्रले पाँचौं विकेटका लागि ८९ रनको साझेदारी गर्दै टोलीलाई जितसम्म पुर्याउन महत्वपूर्ण भूमिका खेले। आरिफले ९९ बलमा ७ चौका र २ छक्कासहित ७८ रन बनाए। दीपेन्द्रले संयमित ब्याटिङ गर्दै ६१ बलमा ३ चौका सहित ३८ रन जोडे।
यसअघि, ओपनर कुशल भुर्तेलले २५, कप्तान रोहित पौडेलले २३, आसिफ शेखले १९ र भीम सार्कीले ११ रनको योगदान दिए।
नेदरल्याण्ड्सका माइकल लेभिटले २ विकेट लिए भने भिभियन किंग्मा र पल भान मेकरेनले १/१ विकेट हात पारे।
खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्स ४९.१ ओभरमा २२५ रनमै समेटियो। टोलीका लागि नोहा कोर्सले सर्वाधिक ४८ रन बनाएका थिए भने कप्तान स्कट एडवार्डसले ४६ रनको योगदान दिए।
कोर्स र मिर्वोबीच ८औं विकेटका लागि ५५ रनको साझेदारी भएको थियो। मिर्वोले २२ बलमा २१ रन बनाए। विक्रमजित सिंहले पनि ३८ रन बनाउँदै कप्तान एडवार्डससँग ७७ रनको तेस्रो विकेट साझेदारी गरेका थिए।
नेपालका लागि सोमपाल कामीले ३ विकेट लिए भने करण केसी, सन्दीप लामिछाने र ललित राजवंशीले समान २/२ विकेट हात पारे।
नेपालले उत्कृष्ट सुरुवात गर्दै पावरप्लेका ५ ओभरभित्रै नेदरल्याण्ड्सका दुई ओपनरलाई सस्तैमा पवेलियन फर्काएको थियो। सोमपालले माइकल लेभिटलाई १ रनमा आउट गर्दा, करणले म्याक्स ओ’डाउडलाई ४ रनमा बोल्ड गरेका थिए।
यो जितसँगै नेपालले १४ खेलमा १० अंक जोड्दै लिग तालिकाको सातौं स्थानमा उक्लिएको छ। नेदरल्याण्ड्स २१ खेलबाट २६ अंकका साथ दोस्रो स्थानमा यथावत रहेको छ।
लिग टु सन् २०२७ को एकदिवसीय विश्वकप छनोट प्रक्रिया अन्तर्गत भइरहेको प्रतियोगिता हो। लिगको अन्त्यमा शीर्ष चार टोली ग्लोबल छनोटमा सिधै पुग्नेछन् भने पुछारमा रहने चार टोलीले प्लेअफ खेल्नुपर्नेछ।
नेपालको बाँकी खेल तालिका जेठ २५ (जुन ८)मा स्कटल्याण्डविरुद्ध र जेठ २७ (जुन १०) मा नेदरल्याण्ड्सविरुद्ध हुने छ।
त्यसपछि असार १ (जुन १५) देखि नेपाल, स्कटल्याण्ड र नेदरल्याण्ड्सबीच त्रिकोणात्मक टि-२० अन्तर्राष्ट्रिय सिरिज हुने कार्यक्रम तय भएको छ।