
काठमाडौं । आइसिसी विश्वकप लिग टु अन्तर्गत चौथो चरणको पहिलो खेलमा नेपालले घरेलु टोली स्कटल्याण्डमाथि रोमाञ्चक १ विकेटको जित निकालेको छ।
स्कटल्याण्डको फोर्थहिल मैदानमा भएको खेलमा २९७ रनको कठिन लक्ष्य पछ्याउँदै नेपालले अन्तिम बलमा वाइड रनमार्फत लक्ष्य पूरा गर्यो। जितको लागि १ रन आवश्यक पर्ने अन्तिम बलमा स्कटिश बलर मार्क वाटले वाइड फालेपछि नेपालले ऐतिहासिक जित दर्ता गर्यो।
नेपालको जितमा करण केसी नायक बने। उनले ४१ बलमा ३ चौका र ४ छक्का सहित अविजित ६५ रनको विस्फोटक पारी खेले। ओपनर कुशल भुर्तेलले पनि ४४ बलमा ११ चौका प्रहार गर्दै ५३ रनको योगदान दिए।
कुशलले ओपनर आसिफ शेखसँग मिलेर पहिलो विकेटका लागि ७२ रनको साझेदारी गरेका थिए। आसिफले ३३ बलमा २० रन बनाएका थिए। अन्य उल्लेखनीय प्रदर्शनमा गुलशन कुमार झाको ३० बलमा ४२ रन, भीम सार्कीको ४८ बलमा ४० रन र कप्तान रोहित पौडेलको ५६ बलमा ३७ रन रहेको छ।
नेपालले १५२ रनमा २ विकेट गुमाएको अवस्थामा बलिङमा कमजोर प्रदर्शन गर्दै विकेट गुमाउँदै गयो, तर अन्त्यतिर करण केसीको धैर्य र आक्रामक खेलले टोलीलाई जित दिलायो।
स्कटल्याण्डका लागि ब्रेण्डन मक्कमुलनले ३ विकेट लिए भने माइकल लिस्क र ज्याक जार्भिसले २/२ विकेट लिए। जसपर डेभिडसनले १ विकेट लिए।
टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २९६ रन बनाएको थियो। चार्ल्स टेयर्सले सबैभन्दा बढी ८० रन जोडे भने फेन्ली म्याक्रिथले ५५ र कप्तान रिची बेरिङ्टनले ४० रन बनाए।
नेपालका लागि करण केसी, सोमपाल कामी र रिजन ढकालले समान २ विकेट लिए। सन्दीप लामिछानेले १ विकेट लिए।
जितसँगै नेपालले लिग टु मा १३ खेलमा ८ अंक बनाउँदै सातौं स्थानमा उक्लिएको छ। स्कटल्याण्ड भने १७ खेलबाट २० अंकसहित चौथो स्थानमा छ।
यस सिरिजमा नेपाल, स्कटल्याण्डसँगै नेदरल्याण्ड्सको पनि सहभागिता छ। लिगको अन्त्यमा शीर्ष ४ स्थानमा रहने टोलीले सन् २०२७ को विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउनेछ भने पुछारका ४ टोलीले प्लेअफ खेल्नुपर्नेछ।