
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आन्तरिक तथा वैदेशिक रोजगारमा रहेका श्रमिकको हक र अधिकारको सुनिश्चितकालागि नेपाल सरकार कटिबद्ध रहेको बताएका छन् ।
१३६ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा मन्त्री भण्डारीले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण श्रमजीवी नेपालीहरूमा शुभकामना सन्देश जारी गर्दै मुलुकको दीर्घकालीन समृद्धि र सामाजिक प्रगतिमा श्रमिकको अमूल्य भूमिका भूमिका रहँदै आएको भन्दै कृतज्ञता व्यक्त गरेका छन् ।
मन्त्री भण्डारीले समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य प्राप्तिका लागि श्रमिकहरूको हक र अधिकारको सुनिश्चितता गर्दै नयाँ र परिष्कृत तवरले जुट्नु पर्ने हामी सबैको सामूहिक अभिभारा रहको उल्लेख गरेका छन् ।
आगामी दश वर्ष भित्र वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यकारी अवस्थालाई अन्त्य गर्ने उद्देश्य सहित घोषणा भएको आन्तरिक रोजगार प्रवर्द्धन दशकको कार्ययोजना अन्तिम चरणमा पुगेको शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।
उनले भनेका छन्, ‘यसै क्रममा श्रम ऐन, वैदेशिक रोजगार ऐन लगायत श्रम सँग सम्बन्धित कानुन तथा नीतिहरू सुधारको कार्य अघि बढिसकेको छ । सबै तहका सरकार तथा सरोकारवालासंगको सहकार्यमा श्रम बजारको प्रवर्द्धन र विकासका लागि चरणबद्ध एवं प्रभावकारी तवरले कार्य गर्ने गरी अभियान सञ्चालन गर्ने चरणमा हामी पुगेका छौँ। । नागरिकलाई प्रभावकारी सेवा प्रवाह गर्न श्रम संसार पोर्टल तथा मोबाइल एप्लिकेसन यही श्रमिक दिवस देखि सबै स्थानीय तह र श्रमिक बीच पुग्ने अपेक्षा सहित आफ्नो स्थानीय तहबाटै सबै प्रकारका श्रम तथा रोजगार सेवा र सुविधा प्रदान गर्नका लागि अभियान नै सञ्चालन गर्ने छौँ ।’
मन्त्री भण्डारीले वैदेशिक रोजगारीबाट फर्किएकाहरूको सीप, पूजी र जाँगरको उचित उपयोग गर्दे ‘स्कील्ड नेपाल र सीपयुक्त नेपाली’ को अवधारणामा आगामी दिनमा डिजिटल ट्र्याप, डेथ ट्र्याप र डेट ट्र्याप बाट बाहिर निकाल्न लागि मन्त्रालय कटिबद्ध रहेको उल्लेख गरेका छन् । उनले २०२५ को अन्तर्राष्ट्रिय श्रम दिवसमा सबै श्रमजीवी तथा रोजगारदाताहरू एकजुट भई श्रमिक अधिकारको संरक्षण, सामाजिक न्याय र समावेशी समृद्धिको दिशामा अघि बढ्न आव्हान गरेका छन् ।
