२० बैशाख २०८२, शनिबार

रवि लामिछानेको सांसद पद स्वतः निलम्बित

Rabi Lamichhane
फाइल फोटो

सहकारी ठगी प्रकरणमा मुछिनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध सहकारी ठगीसँगै, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा कास्की जिल्ला अदालतमा आज मुद्दा दायर भएको छ ।

पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन गरेको आरोपमा पक्राउ परी जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहनुभएका उहाँविरुद्ध सम्पत्ति शुद्धीकरणमा रु २७ करोड ८९ लाख ४४ हजार सात सय पाँच र सहकारी ठगीतर्फ रु तीन करोड ३७ लाख ६५ हजार बिगो दाबीसहित मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीका सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार रास्वपा सभापति लामिछानेसहित उक्त सहकारी ठगी प्रकरणमा जोडिनुभएका रामबहादुर खनाल, छविलाल जोशी र लीला पछाइविरुद्ध सम्पत्ति शुद्धीकरणमा आज मुद्दा दायर गरिएको हो । प्रतिवादी खनालसँग रु १४ करोड ३० लाख ९१ हजार नौ सय ११, जोशीसँग रु ७४ करोड ३४ लाख ७१ हजार ५५, पछाइसँग रु २४ करोड ६७ लाख सात हजार २४ बिगो दाबी गरिको सहायक जिल्ला न्यायाधिवक्ता शर्माले जानकारी दिनुभयो । यस्तै सहकारी ठगीमा जोशीविरुद्ध रु पाँच करोड २६ लाख ६५ हजार र दीपेश पुनसँग रु दुई करोड १४ लाख आठ हजार आठ सय ४३ बिगो माग गरिएको छ ।

    सम्बन्धित समाचार...