नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले रवि लामिछानेमाथि अहिलेको सरकारले प्रतिशोध साँधेको र आतंकित पार्ने काम गरेको आरोप लगाएका छन् । उनले लामिछानेमाथि कांग्रेस र एमालेले गरेको आतंकको मूल्य चर्को पर्ने पनि चेतावनी दिए ।
मंगलबार चितवनमा आयोजित पार्टीको खबरदारी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले कांग्रेस र एमालेका नेताहरुले रवि लामिछानेलाई प्रधानमन्त्री भइदिनुस भनेर भनेको र सुनेको आफ्नै कानले सुनेको र आँखाले देखेको पनि स्मरण गराए ।
उनले भने, ‘कांग्रेस र एमालेका नेताहरूले प्रधानमन्त्री भइदिनुस् भनेर रवि लामिछानेलाई भनेको र सुनेको मैले आफ्नै आँखाले र कानले देखेको छु,’ प्रचण्डले भने, ‘अहिले उहाँलाई एक ठाउँबाट अर्को ठाउँमा लैजाँदा जसरी आतंकित पार्ने काम भएको छ, यसको मूल्य एमाले र कांग्रेसलाई धेरै चर्को पर्नेछ ।’
यस्तै, खबरदारी सभालाई सम्बोधन गर्दै दाहालले गिरिबन्धु टि–स्टेट प्रकरणमा सर्वोच्च अदालतको फैसला कार्यान्वयनको माग गरेका छन् ।
उनले भने, ‘गिरिबन्धुमा भएको भ्रष्टाचारको फाइल खोलिनुपर्यो । उनीहरुमाथि कारबाही गरिनुपर्यो । यहाँ अरबौं अरब भ्रष्टाचार गर्नेहरु, देशभित्र र देशबाहिर सम्पत्ति राखेको आरोप आइराखेको छ, त्यसलाई छानबिनमा सहयोग गर्नुपर्ने ठाउँमा झन् भ्रष्टाचारलाई अझ बढावा दिने जो काम भैराखेको छ, हामी यो खबरदारी सभामार्फत सरकारलाई खबरदारी गरिरहने नै रहेका छौं ।’