१९ बैशाख २०८२, शुक्रबार

सुदूरपश्चिम रोयल्सको अपराजित यात्रामा ‘ब्रेक’, चितवनसँग ३३ रनले पराजित

npl 2

नेपाल प्रिमियर लिगमा सुदूरपश्चिम रोयल्सले पहिलो हार भोगेको छ । आज भएको खेलमा सुदूरपश्चिम चितवन राइनोजसँग ३३ रनले पराजित भएको छ । चितवनले दिएको १६५ रनको चुनौती पछ्याएको सुदूर १८.२ ओभरमा १३१ रनमा अलआउट भयो ।

हालसम्म चार चार खेल खेलेका चितवन र सुदूरपश्चिमले समान तीन जित र एकहार ब्यहोरेका छन् । आजको खेलमा सुदूरपश्चिमका लागि इशान पाण्डेले सर्वाधिक ३५ रन जोडे । सैफ अली जैबले १८ रन जोडेको खेलमा स्कट कुगेलेइनले १६, ब्रान्डन म्याकमुलेनले १३, दिलप्रित बाजवा १२ र नरेन साउद १० रनमा आउट भए । कप्तान दीपेन्द्रसिंह ऐरी १ रनमै आउट भए ।

बलिङमा चितवनका रिजन ढकाल,निकोल लोफ्टी–इटन, कप्तान कुशल मल्ल,र अमरसिंह रौटेलाले २–२ विकेट लिए । शोहिल तनविर र रन्जित कुमारले एक विकेटको योगदान दिए ।

त्यसअघि टीयु क्रीकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६४ रन बनाएको थियो । चितवनका हसन एइसाखिलले सर्वाधिक ६५ रन जोड्दा रवि बोपाराले आक्रमक ब्याटिङ गरे । उनले १८ बलमा ३६ रन बनाए । कप्तान कुशल मल्लले १३ र बिपिन रावलले १७ रनको योगदान दिए ।

बलिङमा सुदूरपश्चिमका स्कट कुगेलेइनले २, कप्तान दीपेन्द्रसिंह ऐरी, ब्रान्डन म्याकमुलेन र सैफ अली जैबले एकएक विकेट लिएका थिए ।

यस्तै, आज भएको पहिलो खेलमा जनकपुर बोल्ट्स विजयी भएको छ । लुम्बिनी लायन्सलाई एक रनले हराउँदै जनकपुरले जारी प्रतियोगितामा आफ्नो विजयी यात्रा कायम गरेको हो ।

लुम्बिनीको यो चौथो हार हो । जारी प्रतियोगितामा लुम्बिनी जितविहीन छ । जनकपुरको भने यो लगातार चौथो जित हो ।

टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले लुम्बिनीसामु जितका लागि १३७ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जनकपुरका लागि कप्तान अनिल साहले ४५ रन बनाए । यस्तै लहिरु मिलान्थाले २४ तथा आशिफ शेखले १६ रन बनाए । शुभ कंसकारले २२ रनको पारी खेले । निर्धारित २० ओभरमा जनकपुरले नौ विकेट गुमाएर १३६ रन बनायो । उत्कृष्ट सुरूआत गरे पनि मध्यक्रम नचल्दा जनकपुरले ठूलो योगफल बनाउन सकेको थिएन । तर जनकपुरले बलिङमा उम्दा प्रदर्शन गर्दा खेलको नतिजा आफ्नो पक्षमा पार्‍यो ।

बलिङतर्फ लुम्बिनीका डेब्यु खेलाडी अभिशेष गौतमले तीन विकेट लिए । उनले १३औं ओभरमा लाहिरु मिलान्थालाई २४, हर्ष थाकरलाई एक र जिम्मी नीशमलाई पनि एकै रनमा आउट गरे । कप्तान रोहित पौडेल र साद विन जाफरले समान दुई विकेट लिए ।

जवाफी ब्याटिङमा उत्रिएको लुम्बिनीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १३५ रन मात्र बनाउन सक्यो । एक रनले चुक्दा लुम्बिनी अब लिग चरणबाटै बाहिरिने संघारमा छ । जनकपुर भने प्लेअफ चरणको नजिक पुगेको छ ।

लुम्बिनीका लागि कप्तान रोहित पौडेलले ३५, टम मूर्सले ३१, अर्जुन साउदले २० तथा सन्दीप जोराले १६ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । बलिङतर्फ जनकपुरका हर्ष थाकरले पाँच विकेट लिए । किशोर महतो, ललित राजवंशी र शेर मल्लले एक-एक विकेट लिए ।