पछिल्लो समय एकपछि अर्का निर्माताले शोमा असन्तुष्टि जनाउँदै हलमा चलिरहेको फिल्म उतार्ने निर्णय लिइरहेका छन् । शो बाँडफाँटमा अन्याय भएको भन्दै २०७९ सालमा फिल्म ‘राधा’को प्रदर्शन स्थगन गरिएको थियो । यही दशैंको घटस्थापनामा आएको फिल्म ‘बेहुली फ्रम मेघौली’को पनि दुई हप्ता पुगेपछि पर्याप्त शो नपाएको भन्दै निर्माताले रिलिज स्थगन गरेका थिए ।
यसैक्रममा, तिहारको लक्ष्मीपूजाबाट प्रदर्शनमा आएको फिल्म ‘पूर्णबहादुरको सारङ्गी’का निर्माताले पनि शनिबार विज्ञप्ति जारी गर्दै सोमबारबाट फिल्मको प्रदर्शन स्थगन हुने घोषणा गरे । केही हलहरुले कर्नरिङ गरेपछि विद्रोह गर्न प्रदर्शन रोक्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ । ‘पुष्पा २’ प्रदर्शन भएपछि फिल्मलाई शोमा विभेद गरिएको भन्दै निर्माताले रिलिज रोक्ने निर्णय गरेका हुन् ।
तर, निर्माताले ‘सारङ्गी’लाई हलबाट उतार्ने घोषणा गरे पनि वितरकले फिल्मको प्रदर्शन जारी राख्ने भएका छन् । फिल्मका दुई वितरक कम्पनी टी-फोक फिल्मस् र ब्याङ्कटेस इन्टरटेनमेन्टले सबै हलहरुलाई इमेल पठाउँदै योजनाअनुसार नै प्रदर्शन अगाडि बढाउन आग्रह गरेको छ । वितरकबाट इमेल प्राप्त भएसँगै हलहरुले सोमबारका लागि शो उपलब्ध गराएका छन् ।
‘पूर्णबहादुरको सारङ्गी’ हलमा लाग्नुभन्दा अघि यसका निर्माता र वितरकबीच फिल्म प्रदर्शनसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको थियो । जसको दोस्रो नम्बर बुँदाले वितरकलाई फिल्मको प्रदर्शन जारी राख्न अधिकार दिएको छ । उक्त बुँदामा निर्माण कम्पनीले नेपाली हलहरुमा रिलिज गरेको मितिबाट ६ महिनाको लागि फिल्मको वितरण एवं प्रदर्शन गर्ने अधिकार वितरकमा निहित रहने उल्लेख छ । फिल्मको प्रदर्शनलाई निरन्तरता दिन वितरकले यही बुँदा टेकेका हुन् ।
फिल्मको प्रदर्शनको विषयलाई लिएर वितरकले आइतबार निर्मातासँग छलफल गर्ने जनाइएको छ । पछिल्लो समय आफूखुसी निर्माता र वितरकले फिल्मको प्रदर्शन स्थगन गर्ने परिपाटी बढेपछि वितरक र प्रदर्शकहरुको संस्था नेपाल चलचित्र संघले पनि यो विषयमा छलफल गर्ने तयारी गरेको छ । संघले यस विषयमा चाँडै महत्त्वपूर्ण निर्णय गर्ने जनाइएको छ ।
बिहीबारबाट प्रदर्शनमा आएको ‘पुष्पा २’का कारण ‘सारङ्गी’ न्यून शोमा खुम्चिएको छ । यद्यपि, प्राप्त शोमा फिल्मको अकुपेन्सी अझै पनि राम्रो देखिन्छ । फिल्मले ४५ करोडमाथिको व्यापार गरिसकेको छ । प्रदर्शन यथावत् रहेको खण्डमा फिल्मले ५० करोडको आँकडा नघाउन सक्ने सम्भावना छ । ‘सारङ्गी’ले सर्वाधिक कमाउने घरेलु फिल्मको इतिहास भने रचिसकेको छ ।