Close Me
१३ माघ २०८१, आईतवार

‘पुष्पा-२ द रुल’को भारतीय बक्स अफिसमा नयाँ इतिहास: बनायो यी रेकर्ड, पहिलो दिन कति कमायो ?

Pushpa 2early reviews 1733387161308 1733387161629

साउथ सुपरस्टार अल्लू अर्जुन अभिनीत बहुप्रतीक्षित फिल्म ‘पुष्पा-२: द रुल’ ले भारतीय बक्स अफिसमा ऐतिहासिक सुरुवात गरेको छ। एड्भान्स बुकिङदेखि नै आक्रामक देखिएको यो फिल्मले पहिलो दिनमै विश्वव्यापी रूपमा ३०० करोड रुपैयाँभन्दा बढीको कमाई गर्दै भारतीय फिल्म उद्योगमा नयाँ इतिहास रचेको छ।

पहिलो दिनको कमाईमा नयाँ रेकर्ड
‘पुष्पा-२’ ले भारतमा मात्र १७५ करोड कमाएको छ। यसमध्ये सबैभन्दा ठूलो हिस्सा तेलुगू भर्सनको रहेको छ, जसले ९५ करोडको ओपनिङ गरेको छ। हिन्दी संस्करणले ६७ करोड, तमिलले ७ करोड, मलयालमले ५ करोड, र कन्नडले १ करोड कमाएको छ। हिन्दी भाषामा मात्र ७२ करोडको ग्रस कलेक्सन गर्दै फिल्मले शाहरुख खानको ‘जवान’ को ६५ करोड ५० लाखको रेकर्ड तोडेको छ।

नेपालमा पनि ऐतिहासिक ओपनिङ
नेपालमा पनि फिल्मले पहिलो दिनमै ४ करोड रुपैयाँ कलेक्सन गर्दै नयाँ रेकर्ड बनाएको छ। यो नेपालको कुनै पनि फिल्मको ओपनिङ कमाईको सबैभन्दा ठूलो आँकडा हो।

वर्ल्डवाइड सर्वाधिक कमाउने भारतीय फिल्म
‘पुष्पा-२’ ले विश्वव्यापी रूपमा पहिलो दिन २९४ करोडको ग्रस कलेक्सन गरेको छ। यससँगै फिल्मले ‘आरआरआर’ को २२३ करोडको पहिलो दिनको वर्ल्डवाइड कमाईको रेकर्डलाई तोड्दै नयाँ इतिहास रचेको हो।

चार दिने विकेन्डमा १००० करोडको सम्भावना
बिहीबार रिलिज भएको ‘पुष्पा-२’ लाई चार दिन लामो विकेन्डको फाइदा मिलेको छ। फिल्म समीक्षकका अनुसार, यो फिल्मले चार दिने विकेन्डमा १००० करोड नाघ्ने सम्भावना छ।

सुकुमारद्वारा लेखन तथा निर्देशन गरिएको यस फिल्ममा अल्लू अर्जुन, रश्मिका मन्दाना, र फहद फासिलजस्ता कलाकारको प्रमुख भूमिका रहेको छ। फिल्मको कथा रक्तचन्दन तस्करीमा आधारित पुष्पराज पात्रको वरिपरि घुम्छ। तर, यसपटक कथा भन्दा एक्सनलाई प्राथमिकता दिइएको छ। समीक्षकहरूका अनुसार, निर्देशकले कथामा कम ध्यान दिएकोले केही दर्शकलाई निराशा हुनसक्छ।

‘पुष्पा-२: द रुल’ ले भारतीय सिनेमा उद्योगलाई नयाँ उचाइमा पुर्‍याएको छ। यो फिल्मले व्यापारिक रूपमा मात्र नभई साउथ फिल्म उद्योगको प्रभावलाई पनि बलियो बनाएको छ।

फिल्मको सफलता आगामी दिनमा अझ बढ्ने प्रक्षेपण गरिएको छ, र यसले भारतीय सिनेमा इतिहासमा नयाँ कीर्तिमानहरू थप्ने निश्चित छ।