अभिनेता पल शाह वैवाहिक जीवनमा बाँधिन लागेको खबर केही दिनयता डढेलो जसरी फैलिएको छ । केही युट्युबरले आगामी माघमा उनले विवाह गर्न लागेको दाबी गरेका छन् भने बिहीबार चर्चित टेलिभिजन कार्यक्रम ‘रजतपट’ले उनको हुनेवाला दुलही एमालेको विद्यार्थी नेतृ रहेको जनाएको थियो । जसले गर्दा पललाई सामाजिक सञ्जालमा बधाईको ओइरो लागिरहेको छ ।
विवाहको खबर एकाएक फैलिएपछि पलले शुक्रबार एक फेसबुक पोस्टमार्फत प्रष्टीकरण दिएका छन् । उनले विवाहको खबरले आफैं चकित परेको उल्लेख गरेका छन् । उनी लेख्छन्, ‘मेरो बिहेको खबरले म आफैं चकित छु । साथीभाईहरुले गर्नुभएको चिन्ता र चासोको कदर गर्दछु तर यहाँहरुलाई स्पष्ट होस् यो खबरमा कुनै सत्यता छैन ।’
निकट स्रोतका अनुसार पल अझै दुई वर्ष विवाह बन्धनमा बाँधिने सोचमा छैनन् । यद्यपि, उनी प्रेम सम्बन्धमा भने रहेको स्रोतको दाबी छ । त्यसो त अहिलेसम्म उनको धेरै युवतीसँग नाम जोडिसकेको छ । तर, उनले कहिल्यै पनि आफू प्रेममा रहेको स्वीकार गरेनन् । बहिनी रोशनी राज्यलक्ष्मी शाहको विवाह भएपछि पललाई परिवारबाट विवाहको दबाब आइरहेको बताइन्छ ।
एक घटनाका कारण एक वर्ष जेल जीवन विताएर फर्किएका पलले फिल्म ‘पूजार सार्की’बाट कमब्याक गरेका थिए । यो फिल्म सफल पनि भयो । गत भदौमा उनको अर्को फिल्म ‘रावायण’ रिलिज भएको थियो । यतिबेला उनको पाइपलाइनमा ‘मायाका रंगहरु’, ‘मोहर’ र ‘महाराजधिराज’ गरी तीनवटा फिल्म छन् । म्यूजिक भिडियोमा पनि उनको माग राम्रो छ ।