८ बैशाख २०८१, शनिबार

प्रधानमन्त्रीलाई भीम रावलको प्रश्न : कालापानीबाट भारतीय फौज हटाउनुको साटो अयोध्याको बहस किन ?

Bhim Rawal

प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्याका सम्बन्धमा दिएको विवादित अभिव्यक्तिको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्रै आलोचना सुरु भएको छ ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले आफ्ना पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्ति विषयान्तर भएको बताएका छन् ।

रावलले कालापानी क्षेत्रबाट भारतीय फौज हटाउनेबारे कुरा गर्नुपर्नेमा अयोध्याको कुरा उठाएर विषयान्तर गरिएको बताएका छन् । उनले देशलाई गम्भीर असर पार्ने विषयमा पार्टी र सरकारमा छलफल गर्न समेत माग गरे । 

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो भानु जयन्तीका अवसरमा भगवान रामका विषयमा दिएको अभिव्यक्तिले देशलाई गम्भिर असर पुर्‍याउने बताएका छन् ।

नेकपाका स्थायी समिति सदस्य डा. भीम रावलले प्रधानमन्त्रीको अभिव्यक्तमाथि प्रश्न उठाउँदै टि्वट गरेका छन् ।

रावलले आफ्नो टि्वटमा लेखेका छन्, ‘यो बेला सीमा क्षेत्र मिचिएको, तराईका बस्ती डुबानमा परेको एवम् कालापानी क्षेत्रबाट भारतीय फौज हट्नुपर्ने विषय उठाई भारतसँग कुरा गर्नुपर्ने हो कि राम र अयोध्याबारे बहस गर्नुपर्ने हो ? विषयान्तर किन ? देशलाई गम्भीर असर पार्ने विषयमा पार्टी र सरकार कहीँ छलफल गर्नुनपर्ने कस्तो तन्त्र हो ?’

प्रधानमन्त्रीले हिजो दिएको अभिव्यक्तिको अहिले नेपाल–भारत दुबैतिर चर्को अलोचना भइरहेको छ । देशभित्रै पनि प्रधानमन्त्री ओलीको चर्को आलोचना भइरहेको छ ।