सहकारी ठगी प्रकरणमा रवि लामिछानेलाई बयानको लागि काठमाडौं ल्याईएको छ । काठमाडौंको कालिमाटी मुख्यालय रहेको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा रविविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रवि गत कार्तिक २ गतेदेखि प्रहरी हिरासतमा छन् ।
यो बीचमा उनलाई रुपेन्देहीपनि बयानको लागि लगिएको थियो । उनलाई बयानको लागि आज कास्कीबाट काठमाडौं ल्याईएको हो । उनलाई प्रहरीले जहाजमार्फत काठमाडौं ल्याएको हो ।
काठमाडौंको आन्तरिक विमानस्थलमा रवि ल्याईँदा उनका समर्थकहरुले प्लेकार्डसहित रविको रिहाईको माग गर्दै नाराबाजी गरेका थिए । उनलाई काठमाडौं झरेलगत्तै प्रहरीले आफ्नै भ्यानमा राखेर विमानस्थल बाहिरि निकालेको थियो ।
काठमाडौँ ल्याउँदा उनका समर्थकले तस्वीर प्रदर्शन गरेर चर्का नाराबाजी गरेका थिए । उनीहरूले त्रिभूवन विमानस्थलमा रविलाई ल्याउँदा ‘रवि दाइ हाईहाई’को नारा लगाएका थिए ।
कास्की प्रहरीको हिरासतमै रहेका बेला स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनको आरोपमा अनुसन्धानका लागि काठमाडौँ जिल्ला अदालतले मंसिर २ गते लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।
काठमाडौंमा बयान सकिएपछि लामिछानेलाई फेरि कास्की नै लगिने र त्यसपछि चितवनमा लगेर पनि बयान लिइने छ। चितवनमा पनि उनीविरुद्ध साहारा सहकारीको रकम अपचलनमा पक्राउ पुर्जी जारी भइसकेको छ।
बुटवलको सुप्रिम सहकारीको बचत अपचलनमा पनि उनीसँग बयान लिइसकिएको छ। उनलाई भोलि शुक्रबारबाट बयान थालिने जनाइएको छ। आज भने काठमाडौँ प्रहरीकै हिरासतमा रहने जनाइएको छ।