
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक (एमडी) कुलमान घिसिङले विद्युत महसुल नतिर्ने उद्योगहरुको बैंक खाता रोक्का राखिदिन आग्रह गर्दै नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेका छन्।
घिसिङले डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरी महसुल नतिरेका ३४ वटा उद्योगहरुको खाता रोक्का राख्न प्राधिकरणको तर्फबाट औपचारिक अनुरोध गरेका हुन्। पत्रमा प्राधिकरणले उद्योगका लगानीकर्ता अन्य कम्पनीको सञ्चालक भए सेयर जारी गर्न, हक हस्तान्तरण गर्न तथा धितो बन्धक दिन नपाउने गरी रोक्का राख्न र बक्यौता महसुल असुल गर्न नेपाल राष्ट्र बैंकसँग सहयोग माग गरेको छ।
नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको बैठकले बक्यौता तिर्न बाँकी रहेका उद्योगहरुको तत्काल लाइन नकाट्ने निर्णय गरेपछि घिसिङले वैकल्पिक उपायको रूपमा यो कदम चालेका हुन्। यो पहलले बक्यौता रकम असुल गर्न थप प्रभावकारी उपायको रुपमा काम गर्ने अपेक्षा गरिएको छ।
विद्युत महसुल समयमा नतिर्ने उद्योगहरूमाथि प्राधिकरणले विगतमा पनि कडा कदम चालेको थियो। यसपटक, बैंक खाता रोक्का राख्ने निर्णयले उद्योगहरुलाई महसुल तिर्न बाध्य बनाउन थप दबाब सिर्जना गर्ने अनुमान गरिएको छ।
उक्त ३४ उद्योगहरूमाथि कति बक्यौता रकम रहेको छ भन्ने विवरण हालसम्म खुलाइएको छैन। तर, प्राधिकरणले महसुल संकलनमा देखिएको चुनौतीलाई दृष्टिगत गर्दै यसलाई संस्थागत रूपमा समाधान गर्न सक्रियता देखाएको छ।