Close Me
१३ माघ २०८१, आईतवार

दुर्गा प्रसाईंलाई म्याद थपका लागि अदालत पेश गरिदै

Durga Prasain
फाइल फोटो

सामाजिक सञ्जाल सूचनाका लागि जति सहज माध्यम बनिरहेको छ, त्यसको दुरुपयोगले सामाजिक सदभावमा उतिकै जोखिम निम्त्याइरहेको छ । नेपालमा केही त्यस्ता पात्रहरु चुनौती बनिरहेका छन् जो भ्रम र अराजकता निम्त्याउने प्रयासमा संलग्न छन । त्यसैको एउटा पात्र हुन् मेडिकल व्यवसायी दुर्गा प्रसाईं । कुनै समयमा ठूला राजनीतिक दलका नेताहरुलाई नै प्रभाव पारेर बस्ने दुर्गा अहिले सामाजिक सञ्जालबाट भ्रम र अराजकता फैलाउने आरोपीका रुपमा पक्राउ परेका छन् ।

साइबर अपराधको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध प्रहरीले आपराधिक लाभलगायत आधा दर्जन कसुरमा अनुसन्धान सुरु गरेको छ ।

झापाको बिर्तामोडस्थित बीएन्डसी मेडिकल कलेजका सञ्चालकसमेत रहेका प्रसाईंविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी ले आपराधिक लाभ, सम्पत्ति शुद्धीकरण, साइबर अपराध, संगठित अपराध, किर्ते र बैंकिङ कसुरमा अनुसन्धान थालेको हो ।

केही दिनअघि प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको दूरसञ्चार कम्पनीमा लगानी गरेको र आफूसँग त्यसको प्रमाण रहेको भन्दै विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत अभिव्यक्ति दिएका थिए ?।

प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियामा ३२ अर्ब लगानी रहेको भन्दै एउटा अपुष्ट भिडियो सार्वजनिक गरे लगत्तै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले मंगलबार बिहानै दुर्गा प्रसाईंविरुद्ध अदालतबाट पक्राउ अनुमति लिइसकेको थियो । दिउँसो दुर्गा घरमै भएको सूचना पाएपछि सीआईबीको टोली उनलाई पक्राउ गर्न भक्तपुरको निकोसेरा पुग्यो । दुर्गा त्योबेला २० जना समर्थनलाई लिएर भित्रबाट गेट लगाएर घरमै थिए ।

सीआईबीको टोली गेटभित्र गएर पक्राउ गर्न खोज्दा उनी भागेर किचेनमा लुकेको प्रहरी स्रोतको दाबी छ । तर सीआईबीले भेटेलगत्तै उनी गिरफ्तारी दिन तयार भए । दुर्गासँगै उनका १० जना समर्थक पनि आजै पक्राउ परेका छन् । प्रसाईंलाई प्रहरीले साइबर अपराधसम्बन्धी कसुरमा अनुसन्धानका लागि पक्राउ गरेको हो । यसपटक प्रसाईंले प्रधानमन्त्रीको नाम जोडेर भ्रामक र तथ्यहीन सामग्री प्रचार गरेको आरोप छ । प्रधानमन्त्री केपी ओलीको नाममा नागरिकतादेखि विदेशमा ओलीले लगानी गरेका भनी नक्कली कागजात बनाएको आरोपमा उनीमाथि अनुसन्धान हुनेछ ।

प्रधानमन्त्रीमाथि दुर्गाले लगाएको आरोपको आधिकारिताबारे त खोजी हुन्छ नै, तर सामाजिक सञ्जालमार्फत् उनले मच्चाएको अराजकतामा साइबर अपराधको कसुरमा मात्र सिमित हुने भने देखिँदैन । उनले प्रयोग गर्दै आएका ल्यापटप र १० थान मोबाइल समेत नियन्त्रणमा लिएको प्रहरीले यसपटक दुर्गाका सबै प्रकारका गतिविधि र कारोबारको समेत अनुसन्धान गर्ने तयारी गरको छ ।

प्रहरी स्रोतका अनुसार दुर्गाकै समुहले भारतमा आतंक मच्चाइरहेको लोरेन्स विस्नोइ समूहको नाममा समेत व्यवसायीहरुलाई धम्काएको सूचना छ । यसका आधारमा उनीमाथि संगठित अपराधमा समेत विस्तृत अनुसन्धानको तयारी सीआईबीले गरेको छ ।

त्यसो त दुर्गा प्रसाइको अराजकता यो हदसम्म पुग्नु अघि राजनीतिक नेतृत्वको उनलाई साथ थियो । कतिसम्म भने नेकपा गठनको सुत्रधार नै उनैलाई मानिएको थियो । प्रसाईंकै घरमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालको पटक-पटक बैठक भएका थिए । जसमध्येको एउटा तस्विर त अझै पनि चर्चामा छ । एमालेको केन्द्रीय सदस्य बन्न नपाएपछि भने उनी ओली र एमालेमाथि खनिँदै आएका थिए ।

बैंक तथा लघुवित्तको ऋण मिनाहा गर्ने भन्दै सडकमा आन्दोलन गराएर अराजकता मच्चाउँदा समेत उनलाई प्रशासनले कारबाहीको दायरामा ल्याउन सकेको थिएन । बैंकका कर्मचारीमाथि उनका सर्मथकले हातपात नै गरे । उनको साथबाट लाइसेन्स भएको हतियार समेत बरामद भयो । गत वर्ष मंसिर ७ गते काठमाडौंमा गरेको प्रदर्शनले उनको हौसला बढेको थियो । तै पनि सरकारले उनको गतिविधिमाथि कुनै निगरानी गरेन । त्यसको फाइदा उठाउँदै सामाजिक सञ्जालको चरम दुरुपयोग चलिरह्यो । गत असोज ६ गते साइबर अपराधको कसुरमै पक्राउ परेर धरौटीमा छुटेका दुर्गामाथि एउटा मुद्दाको टुंगो नलाग्दै अर्को अभियोग लाग्ने भएपछि ७ वर्ष सम्म कैद सजाय हुन सक्छ ।

दुर्गा प्रसाईंमाथि अनुसन्धान हुँदै गर्दा उनले प्रधानमन्त्रीमाथि लगाएको आरोपबारे पनि छानबिन हुनु पर्ने छ । दुर्गा प्रसाईंले भ्रमकै लागि यो हदसम्मको हर्कत गरेका हुन् भने उनी कठोर कारबाहीको भागिदार हुनै पर्छ । साथै जोसुकै भए पनि सामाजिक सञ्जालको दुरुपयोग गरेर सामाजलाई भड्काउन खोज्नेहरु कानुनको दायरामा आउनु पर्छ ।

प्रसाईंलाई सीआईबीले अदालतबाट अनुमति लिएर मंगलबार पक्रेर थप अनुसन्धान गर्न साइबर ब्युरोको जिम्मा लगाएको हो ।पक्राउ परेका प्रसाईलाई आज अदालतमा उपस्थित गराउने तयारी छ । विभिन्न व्यक्ति प्रयोग गरी अरूलाई धम्क्याएर रकम असुलीको विषयमा प्रसाईंमाथि आपराधिक लाभको कसुरमा अनुसन्धान थालिएको हो ।

बैंकर र व्यवसायी गरी ४ जनाले अपरिचित व्यक्तिबाट धम्की आएको भन्दै साताअघि सीआईबीमा जाहेरी दिएका थिए । प्रहरीले प्रसाईंसँग जोडिएका आर्थिक कारोबारसम्बन्धी आवश्यक कागजात उपलब्ध गराउन नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको छ।

    सम्बन्धित समाचार...