२० बैशाख २०८२, शनिबार

दुर्गा प्रसाईं साइबर अपराध गरेको आरोपमा पक्राउ

Durga Prasain
फाइल फोटो

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) ले प्रसाईंलाई भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो ।

प्रसाईंलाई साइबर अपराधको मुद्दामा पक्राउ गरिएको सीआईबीले जनाएको छ । प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जोडेर सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोप छ ।

सोमबार कम्बोडियाको टेलिकममा प्रधानमन्त्री ओलीको साढे ३२ अर्ब लगानी रहेको भन्दै भिडिओ कलमार्फत् कसैले देखाएको कागजात सार्वजनिक भएको थियो । उनले सार्वजनिक गरेको सोही भिडिओलाई लिएर आज उनको निवासमा पुगेर सीआईबीको टोलीले प्रसाईँलाई पक्राउ गरेको थियो ।

प्रसाईंविरुद्ध साइबर अपराधमा अनुसन्धान अघि बढेको छ । सीआईबीका अनुसार प्रसाईँविरुद्ध साइबर क्राइम, कागजात कीर्ते र मानहानीको कसुरमा अनुसन्धान गरिने र सोही बमोजिम मुद्दा चलाइने छ ।

प्रसाईँलाई आज नै काठमाडौं जिल्ला अदालतमा म्याद थपका लागि पेश गरिने बताइएको छ । प्रसाईँसँगै फेक भिडिओ बनाउनमा संलग्न रहेका सबैलाई कानुनी कारबाहीको दायरामा ल्याइने सीआईबीले बताएको छ ।

    सम्बन्धित समाचार...