१९ बैशाख २०८२, शुक्रबार

‘ह्रस्व दीर्घ’को कमाइ २ करोड माथि, दर्शक भेट्न काठमाडौं आइपुगे ‘गजनी’ भिलेन

film

‘ह्रस्व दीर्घ’ले घरेलु बक्स अफिसमा सुखद कमाइ गरेको छ । मुलकका डेढसय हलबाट रिलिज भएको यो फिल्मले प्रदर्शनको दोस्रो दिन शनिबारसम्म देशब्यापी २ करोड माथि ग्रसकलेक्सन गरेको वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले जनाएको छ ।

फिल्मले शुक्रबार देशब्यापी ८० लाख ग्रस र शनिबार १ करोड २० लाख रुपैयाँ ग्रस कमाइ गरेको जानकारी वितरक मनोज राठीले दिए । उनका अनुसार फिल्मले आइतबार पनि उत्साहजनक कलेक्सन गरेको छ ।

‘ह्रस्व दीर्घ’ले दर्शकीय प्रतिक्रिया राम्रो पाएको देखिन्छ । कथावस्तु, ट्विस्ट एन्ड टर्न, कलाकारहरुको अभिनय, द्वन्द्व, मेकिङ पक्षलाई रुचाइएको छ ।

यता, फिल्म ‘ह्रस्व दीर्घ’मा अभिनेत्री नीता ढुंगानाको बुबाको भूमिका निर्वाह गरेका भारतीय कलाकार प्रदीप रावत काठमाडौं आइपुगेका छन् । फिल्मले राम्रो ओपनिङ हासिल गरेपछि नेपाली दर्शकसँग भेट गर्न उनी श्रीमती कल्याणी (साउथ अभिनेत्री)को साथमा आइतबार साँझ ७:४५ बजे नेपाल एयरलाइन्सको विमानबाट काठमाडौं ओर्लिएका हुन् । उनलाई फिल्मको टिमले त्रिभुवन विमानस्थलमा स्वागत गरेको थियो ।

विमानस्थलबाट प्रदीप सीधै कमलपोखरीस्थित बिग मुभिजतर्फ लागेका छन् । त्यहाँ उनले ‘ह्रस्व दीर्घ’ हेरेका दर्शकसँग साक्षात्कार गर्नेछन् । उनी आफैंले पनि फिल्म हेरेका छैनन् । आइतबार साँझ नै उनले दर्शकसँग बसेर फिल्म हेर्ने जनाइएको छ । सोमबार बिहान पशुपतिनाथ मन्दिरको दर्शन गर्न लागेका उनले चारदिने नेपाल बसाईको क्रममा विभिन्न हल पुगेर दर्शकसँग भेट गर्नेछन् ।

प्रदीप यसअघि फिल्मको छायांकनका लागि गत पुषमा नेपाल आएका थिए । यसमा उनको महत्त्वपूर्ण भूमिका छ । उनको जेठी छोरीको भूमिकामा नीता ढुंगाना छिन् भने कान्छी छोरीको भूमिका गरिमा शर्माले निभाएकी छन् । फिल्ममा प्रदीपलाई देवधामको आदर्श पात्रको रुपमा चित्रित गरिएको छ । पर्याप्त ‘स्क्रिन स्पेश’ पाएका उनको अभिनय स्वभाविक नै लाग्छ ।

प्रदीपले हिन्दी, तमिल, तेलुगु, मलायलम, कन्नड, बंगाली, भोजपुरी लगायत विभिन्न भाषाका फिल्ममा काम गरेका छन् । उनलाई दर्शकमाझ चिनाएको फिल्म भने ‘गजनी’ हो । यसमा उनी नकारात्मक भूमिकामा देखिएका थिए । उनले साउथ स्टारहरु प्रभासदेखि अल्लू अर्जुनसम्मका फिल्ममा काम गरिसकेका छन् । उनले विभिन्न भाषाका गरी डेढ सय बढी फिल्म गरेका छन् ।

नीता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता धनन्जय गलानी हुन् । फिल्ममा हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसीलगायतका कलाकारको अभिनय रहेको छ ।

अभिनेता हरिहर अधिकारीको कथा र प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको फिल्मलाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन् ।

फिल्मलाई चन्द्र पन्तले निर्देशन गरेका हुन् । यसअघि केही भोजपुरी फिल्मको निर्देशन तथा करिब पाँच दर्जनभन्दा बढी नेपाली सिनेमामा द्धन्द्व निर्देशकको रुपमा काम गरिसकेका पन्तको यो निर्देशकीय डेव्यु नेपाली फिल्म हो ।