बुटवलको सुप्रिम सहकारीको बचत रकम अपचलन प्रकरणअन्तर्गत संगठित अपराधको अभियोगमा बयानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज रुपन्देही ल्याइने भएको छ ।
रुपन्देही जिल्ला अदालतले ८ कात्तिकमा लामिछानेसहित १२ जनालाई संगठित अपराधमा पक्राउ गर्न अनुमति दिएको थियो । अदालतको अनुमतिअनुसार सरकारी वकिलको कार्यालयमा बयानका लागि लामिछानेलाई रुपन्देही ल्याउन लागिएको हो । पोखराबाट बिहानको पहिलो उडानबाट रुपन्देही ल्याउन लागिएको रुपन्देहीका प्रहरी प्रमुख एसपी रन्जीतसिंह राठौरले बताउनुभयो । यद्यपि भैरहवाको विमानस्थल बिहानमा नखुल्ने भएका कारण ल्याउन ढिलाइ हुनसक्ने राठौरको भनाइ छ ।
विमानस्थलबाट लामिछानेलाई सिधै भैरहवामा रहेको जिल्ला प्रहरी कार्यालयमा राखिने छ । त्यसपछि जिल्ला सरकारी न्यायधिवक्ताको कार्यालयमा लगिने छ । बुटवलको सुप्रिम सहकारीको रकम गैरकानुनीरूपमा गोर्खा मिडिया नेटवर्कमा सारिएको विषयमा नेटवर्कका तत्कालीन उपाध्यक्ष छविलाल जोशीसँग दुई दिन बयान लिएर पोखरा पठाइएको थियो ।
सुप्रिम सहकारीको रकम पनि लामिछाने प्रबन्ध-निर्देशक रहेको गोर्खा मिडिया प्रालिमा अपचलन भएको सहकारीसम्बन्धी संसदीय छानबिन समितिले ठहर गरेको थियो । बुटवलको सुप्रिम सहकारीबाट जोशीको नाममा दुई करोड ५० लाख र लामिछानेको नाममा एक करोड ९६ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको संसदीय विशेष छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ ।
जोशी र लामिछानेसहित जीबी राई, भूपेन्द्रबाबु राई, कुमार रम्तेल र गोर्खा मिडिया नेटवर्कका नाममा गरी सुप्रिम सहकारीबाट १४ करोड २९ लाख ३६ हजार रुपैयाँ रकम पठाइएको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ ।
प्रहरीले सुप्रिम सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङसहित २८ जनाविरुद्ध जिल्ला अदालत रूपन्देहीमा मुद्दा दायर गरेको थियो । अहिले सहकारीका अध्यक्ष गुरुङ पुर्पक्षका लागि जिल्ला कारागार रूपन्देहीमा छन् भने सहकारीका पूर्वसचिव दीपेश पुनसहित ६ जना धरौटीमा रिहा भइसकेका छन् । सहकारीका पूर्वअध्यक्ष एवं संरक्षक राईसहित अन्य व्यक्ति भने फरार छन् ।