नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताको हितमा सिन्को नभाँचेको टिप्पणी गरेका छन् ।
आज (शनिबार) मकवानपुरको थाहा नगरपालिकाको वाईसीएलको अधिवेशनलाई सम्बोधन गर्दै उनले आफू प्रधानमन्त्री भएको बेला गरेको कामको फेहरिस्त वर्तमान सरकारले आफ्नो लिस्टमा राखेको आरोप लगाए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको एक सयदिने प्रगतिमा प्रचण्ड नेतृत्वको निवर्तमान सरकारले गरेको कामलाई घुसाएको बताए ।
‘सय दिनको उपलक्ष्यमा प्रधानमन्त्री केपी शर्मा ओलीले पढेको वक्तव्य सुन्नुभयो होला– मैले गरेको जति काम सबै आफूको बनाएछन् तिनले । उनले त यहाँ आएपछि सिन्को भाँचेका छैनन् । सय दिनमा गरेको भनेर जे फेहरिस्त पेश गरे, त्यो माओवादी केन्द्र नेतृत्वको सरकारले गरेको कामको लिस्ट बनाएछन् र यो मैले गरेको भने,’– प्रचण्डले भने ।
पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले ओलीले माओवादीले गरेको काममा पनि दाबी गर्दा प्रतिवाद नगरेको भन्दै नेता तथा कार्यकर्तासँग असन्तुष्टि व्यक्त गरे ।
अधिवेशनलाई सम्बोधन गर्दै दाहालले अहिलेको कांग्रेस–एमालेको सरकार शेरबहादुर देउवा वा केपी ओलीले बुद्धि लगाएको कारण नबनेको टिप्पणी गरेका छन् । उनले माओवादी र प्रचण्ड नमर्ने दाबी गरेका छन् । एकथरीले प्रचण्डको अवशान भैसकेको भनेर भन्ने गरेको उल्लेख गर्दै दाहालले प्रचण्ड जिउँदै रहेकोले नयाँ आन्दोलनमार्फत भ्रष्टाचारीहरुविरुद्ध जेहाद छेडेर जित निकाल्ने उद्घोष गरे ।
उनले अघि भने, ‘कांग्रेस र एमालेका नेताका बुद्धिले यो अहिलेको परिस्थिति बनेको होईन । टेन्सन कसलाई भयो भन्दा दलालहरुलाई हो, विचौलियालाई टेन्शन भयो । धेरै विचौलियाको सेटिङ मैले भत्काईदिएको छु । उनीहरुको ठूला ठूला सेटिङ भत्कायो भनेर टेन्शन भयो । त्यसकारण मलाई शेरबहादुर देउवाजी या केपी शर्मा ओलीजीले बुद्धि निकालेर सरकार बनाएको भन्ने लाग्दैन् । होईन । ती दलाल पुँजीपति र विचौलियाहरुले उनीहरुलाई आफ्ना घर बोलाएर राति उनीहरु सम्झाए कि हामीलाई त सिध्याउने भयो यो प्रचण्डले, तपाईंहरुसित यति धेरै सिट छ, के हेरेर बसेको भनेपछि उनीहरु त्यो लाईनतिर गए ।’
उनले अहिले कांग्रेस र एमालेप्रति जनताको असन्तुष्टि, आक्रोश र आवेग दिनदिनै बढेको पनि दाबी गरे । उनले आफूले सुशासनको अभियान छेडेपछि र भ्रष्टाचारीलाई कारबाही गर्न थालेपछि कांग्रेस र एमालेले संख्याको बलमा सरकार बनाएको आरोप लगाएका छन् ।
आफू नेतृत्वको सरकारले भ्रष्टाचारीलाई कारबाही गर्न थालेपछि तिनीहरुलाई बचाउनुपर्ने बाध्यतामा कांग्रेस र एमाले पुगेको उनको दाबी छ ।
सम्बोधनको क्रममा उनले, ‘चन्द्रागिरी कटेर चित्लाङ प्रवेश गरेर यहाँ आउँदासम्म बाटोका धेरै ठाउँमा जनताले जुन उत्साहका साथ, जुन उर्जा र आत्मविश्वासको साथ र मलाई र टिमलार्ई स्वागत गर्नुभयो । सबैलाई हृदयदेखि अभिवादन भन्न चाहन्छु । न्यानो स्वागतले मलाई मात्रै नभएर पार्टीका नेता तथा कार्यकर्तालाई नयाँ उर्जा प्रदान गर्नुभएको छ । अहिले जुन परिस्थितिबाट गुज्रिएर प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा छु, १८ महिना सरकारको नेतृत्व गर्दा राम्रो काम गर्छु र नराम्रो गर्नपनि दिन्नँ भनेर संकल्पन लिएर सुरु गरेको थिएँ । सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धि हाम्रो अभियानअन्तर्गत सरकार सञ्चालन गर्ने इमानदार कोशिस गरें । सबै बेथिति र विसंगतिका विरुद्धमा लडाई गरेको थिएँ । जनयुद्धको क्रममा र शान्ति प्रक्रियामा आएपछि सबै उत्पीडितहरुको हकअधिकराको लागि लडेको थिएँ । सरकारमा हुँदा इमानदार प्रयास भयो ।’
सुशासन कायम हुन थाल्यो र भ्रष्टाचारीहरु कारबाहीमा पर्न थालेपछि तिनीहरुलाई बचाउनुपर्ने बाध्यतामा कांग्रेस र एमाले पुगेको उनको भनाई छ । उनले भने,‘तिनीहरुकै प्रतिनिधिको रुपमा अहिले कांग्रेस र एमाले सरकारमा छन् । उनीहरु सरकारमा छन् तर दिनदिनै जनताको नजरमा गिरिरहेका छन् । जहाँ जहाँ राम्रो काम भएको थियो, त्यो त्यो काम उल्टाउने कोशिस भैरहेको छ । मैले नै पहल गरेर लोडसेडिङमुक्त गरें । अहिलेको सरकारलाई यो लोडसेडिङमुक्त भएको विल्कुल मन परेको छैन् । उनीहरु देशलाई फेरि अँध्यारो युगतर्फ लैजान चाहन्छन् । उनीहरु दलाल पुँजीपतिहरुलाई विद्युत महशुल तिर्न नपर्ने बनाउनको लागि र गरिब जनतालाई तिर्नेपर्नै बाध्यता बनाउनको लागि कुलमानलाई निकाल्ने चालबाजी गरिरहेका छन् । एउटा प्रधानमन्त्रीले देशलाई अँध्यारोबाट उज्यालोतर्फ लैजान भूमिका खेल्यो, र अर्को प्रधानमन्त्री मुलुकलाई उज्यालोबाट अँध्यारोतर्फ लैजान उद्धत छ ।’
उनले देशमा भूमाफियालाई आफूले कारबाही गरेको पनि स्मरण गराए । उनले भने,‘सरकारी जग्गा जालझेल र षड्यन्त्र गरेर व्यक्तिको नाममा लैजाने षड्यन्त्रकारीलाई मेरो नेतृत्वको सरकारले कारबाही गर्यो । तिनलाई हिरासतमा पर्यायो । अर्को प्रधानमन्त्रीले तिनैबाट दान लिएर भ्रष्टाचारीलाई संरक्षण गर्न खोजिरहेको छ ।’