नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले अहिलेको कांग्रेस–एमालेको सरकार शेरबहादुर देउवा वा केपी ओलीले बुद्धि लगाएको कारण नबनेको टिप्पणी गरेका छन् ।
उनले भने,‘कांग्रेस र एमालेका नेताका बुद्धिले यो अहिलेको परिस्थिति बनेको होईन । टेन्सन कसलाई भयो भन्दा दलालहरुलाई हो, विचौलियालाई टेन्शन भयो । धेरै विचौलियाको सेटिङ मैले भत्काईदिएको छु । उनीहरुको ठूला ठूला सेटिङ भत्कायो भनेर टेन्शन भयो । त्यसकारण मलाई शेरबहादुर देउवाजी या केपी शर्मा ओलीजीले बुद्धि निकालेर सरकार बनाएको भन्ने लाग्दैन् । होईन । ती दलाल पुँजीपति र विचौलियाहरुले उनीहरुलाई आफ्ना घर बोलाएर राति उनीहरु सम्झाए कि हामीलाई त सिध्याउने भयो यो प्रचण्डले, तपाईंहरुसित यति धेरै सिट छ, के हेरेर बसेको भनेपछि उनीहरु त्यो लाईनतिर गए ।’
उनले अहिले कांग्रेस र एमालेप्रति जनताको असन्तुष्टि, आक्रोश र आवेग दिनदिनै बढेको पनि दाबी गरे । उनले आफूले सुशासनको अभियान छेडेपछि र भ्रष्टाचारीलाई कारबाही गर्न थालेपछि कांग्रेस र एमालेले संख्याको बलमा सरकार बनाएको आरोप लगाएका छन् ।
शनिबार मकवानपुरको थाहा नगरपालिकाको वाईसीएलको अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् । आफू नेतृत्वको सरकारले भ्रष्टाचारीलाई कारबाही गर्न थालेपछि तिनीहरुलाई बचाउनुपर्ने बाध्यतामा कांग्रेस र एमाले पुगेको उनको दाबी छ ।
सम्बोधनको क्रममा उनले भने,‘चन्द्रागिरी कटेर चित्लाङ प्रवेश गरेर यहाँ आउँदासम्म बाटोका धेरै ठाउँमा जनताले जुन उत्साहका साथ, जुन उर्जा र आत्मविश्वासको साथ र मलाई र टिमलार्ई स्वागत गर्नुभयो । सबैलाई हृदयदेखि अभिवादन भन्न चाहन्छु । न्यानो स्वागतले मलाई मात्रै नभएर पार्टीका नेता तथा कार्यकर्तालाई नयाँ उर्जा प्रदान गर्नुभएको छ । अहिले जुन परिस्थितिबाट गुज्रिएर प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा छु, १८ महिना सरकारको नेतृत्व गर्दा राम्रो काम गर्छु र नराम्रो गर्नपनि दिन्नँ भनेर संकल्पन लिएर सुरु गरेको थिएँ । सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धि हाम्रो अभियानअन्तर्गत सरकार सञ्चालन गर्ने इमानदार कोशिस गरें । सबै बेथिति र विसंगतिका विरुद्धमा लडाई गरेको थिएँ । जनयुद्धको क्रममा र शान्ति प्रक्रियामा आएपछि सबै उत्पीडितहरुको हकअधिकराको लागि लडेको थिएँ । सरकारमा हुँदा इमानदार प्रयास भयो ।’
सुशासन कायम हुन थाल्यो र भ्रष्टाचारीहरु कारबाहीमा पर्न थालेपछि तिनीहरुलाई बचाउनुपर्ने बाध्यतामा कांग्रेस र एमाले पुगेको उनको भनाई छ । उनले भने,‘तिनीहरुकै प्रतिनिधिको रुपमा अहिले कांग्रेस र एमाले सरकारमा छन् । उनीहरु सरकारमा छन् तर दिनदिनै जनताको नजरमा गिरिरहेका छन् । जहाँ जहाँ राम्रो काम भएको थियो, त्यो त्यो काम उल्टाउने कोशिस भैरहेको छ । मैले नै पहल गरेर लोडसेडिङमुक्त गरें । अहिलेको सरकारलाई यो लोडसेडिङमुक्त भएको विल्कुल मन परेको छैन् । उनीहरु देशलाई फेरि अँध्यारो युगतर्फ लैजान चाहन्छन् । उनीहरु दलाल पुँजीपतिहरुलाई विद्युत महशुल तिर्न नपर्ने बनाउनको लागि र गरिब जनतालाई तिर्नेपर्नै बाध्यता बनाउनको लागि कुलमानलाई निकाल्ने चालबाजी गरिरहेका छन् । एउटा प्रधानमन्त्रीले देशलाई अँध्यारोबाट उज्यालोतर्फ लैजान भूमिका खेल्यो, र अर्को प्रधानमन्त्री मुलुकलाई उज्यालोबाट अँध्यारोतर्फ लैजान उद्धत छ ।’
उनले देशमा भूमाफियालाई आफूले कारबाही गरेको पनि स्मरण गराए । उनले भने,‘सरकारी जग्गा जालझेल र षड्यन्त्र गरेर व्यक्तिको नाममा लैजाने षड्यन्त्रकारीलाई मेरो नेतृत्वको सरकारले कारबाही गर्यो । तिनलाई हिरासतमा पर्यायो । अर्को प्रधानमन्त्रीले तिनैबाट दान लिएर भ्रष्टाचारीलाई संरक्षण गर्न खोजिरहेको छ ।’