Close Me
२१ मंसिर २०८१, शुक्रबार

‘पूर्ण बहादुरको सारङ्गी’को शो संख्यामा कीर्तिमान, एक साताको कमाई ८ करोडमाथि

purna badhur 1 1536x864 1

गत सातादेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ ले आज नेपालभरका हलमा तीन सय ८० भन्दा बढी ‘शो’ पाएको छ । यसले नेपाली चलचित्र इतिहासमा एकैदिन सबैभन्दा धेरै ‘शो’ पाउने नेपाली चलचित्रको रेकर्डसमेत बनाएको चलचित्र निर्माण कम्पनी सेभेन सिसले जनाएको जनाएको छ ।

चलचित्रले बिहीबारबाट देशभरका ८९ हलमा ३ सय ८० बढी शो प्राप्त गरेको वितरकले जनाएका छन् । यो नेपाली चलचित्रले प्राप्त गरेको हालसम्मकै उच्च शो हो । यसअघि यो रेकर्ड घटस्थापना (असोज १७)मा आएको चलचित्र ‘बेहुली फ्रम मेघौली’को नाममा थियो, जसले प्रदर्शनको पहिलो दिन ३ सय ४० शो प्राप्त गरेको थियो ।

चलचित्रको मुख्य भूमिकामा रहेका कलाकार विजय बरालले काठमाडौँ उपत्यकामा एक सय ८० र उपत्यका बाहिरका दुई सय गरी देशभरका ८९ हलमा तीन सय ८० भन्दा बढी ‘शो’ पाएर चलचित्र उत्साहजनक रूपमा प्रदर्शन भइरहेको जानकारी दिए ।

हालसम्म चलचित्रले बक्स अफिसमा प्रदर्शनमा आएको एक हप्तामै रु आठ करोड २५ लाख ग्रस कमाएको निर्माण कम्पनी सेभेन सिजले दाबी गरेको छ ।

चलचित्रको शनिबारसम्म नै बुकिङ आक्रामक देखिएको छ । बिहान ६ बजेदेखि बेलुकाको ११ बजेसम्म शो खुलाउँदा पनि देशभरका हलहरुले दर्शकको माग धान्न सकेका छैनन् । अधिकांश हलमा टिकटको हाहाकार देखिन्छ ।

चलचित्रको आक्रामक गति हेर्दा २० करोडको आँकडा त्यति टाढा देखिँदैन । यसले आगामी हुने रिलिज चलचित्रलाई समेत ठूलो समस्या पार्न सक्ने विश्लेषण भइरहेको छ । आगामी हप्ता ‘ह्रस्व दीर्घ’ र ‘केटी हराएको सूचना’ गरी दुई नेपाली चलचित्र प्रदर्शनमा आउँदैछन् । ‘पूर्ण बहादुरको सारङ्गी’को चुलिँदो क्रेजका कारण यी दुई चलचित्रले पर्याप्त शो पाउनेमा आशंका देखिन्छ ।

सरोज पौडेलको लेखन तथा निर्देशन रहेको चलचित्रमा बराल मुख्य भूमिकामा रहनुभएको छ भने प्रकाश सपूत, मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, आलिस बास्तोला, स्वयम केसी, जान्वी पौडेललगायतको यसमा अभिनय रहेको छ ।

सेभेन सिस सिनेमा र बासुरी फिल्मस्को प्रस्तुति रहेको चलचित्रको निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी तथा कार्यकारी निर्मातामा रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल रहनुभएको छ ।

यो चलचित्र गन्धर्व परिवारको कथावस्तुमा आधारित छ । चलचित्रले एउटा बुबाले छोराको सफलताका लागि गरेको सङ्घर्षको कथा समेटेको छ ।

image 2