चन्द्र पन्तले निर्देशन गरेको फिल्म ‘ह्रस्व दीर्घ’ आगामी कात्तिक ३० गतेबाट प्रदर्शनमा आउने तयारीमा छ। फिल्मको स्टारकास्ट र निर्माण शैलीले यसलाई चर्चाको केन्द्रमा राखेको छ। दशैंमा रिलिज गरिएको टिजरले दर्शकमाझ ठूलो हाइप बनाएको थियो भने बुधबार कथा रिबिल नगरी सार्वजनिक गरिएको ट्रेलरमा प्रेम, रोमान्स, एक्सन, विछोड र कमेडीको मिश्रण प्रस्तुत गरिएको छ।
फिल्मको सार्वजनिक ट्रेलरमा अभिनेता हरिहर अधिकारी र अभिनेत्री नीता ढुंगानाबीचको प्रेम सम्बन्धमा आएका उतार-चढावलाई कथावस्तु बनाइएको छ। देवधाममा बसोबास गर्ने महामन्थ (प्रदीप रावत)की छोरी नारायणी (नीता) र हरि (हरिहर)को प्रेमलाई फिल्मको केन्द्रमा राखिएको छ। तर, हरिहरको गरिमा शर्मासँग पनि प्रेम सम्बन्ध खुलेपछि उत्पन्न भएको परिस्थितिलाई ट्रेलरमा चित्रण गरिएको छ। हरिहरलाई रोमान्टिक र एक्सन अवतारमा देखाइएको छ भने ट्रेलरको कमर्शियल शैली र मेकिङ क्वालिटी पनि प्रशंसनीय रहेको छ।
फिल्ममा नेपाली र दक्षिण भारतीय कलाकारहरूको बलियो टिम रहेको छ। अभिनेत्री विपना थापाले हरिहरकी आमाको भूमिका निभाएकी छिन् भने साउथका चर्चित अभिनेता ब्रह्मानन्दमले नीताको मामाको भूमिका निभाएका छन्। चर्चित साउथ फिल्म ‘पुष्पा’का भिलेन सुनिल बर्मा नकारात्मक भूमिकामा प्रस्तुत भएका छन्। साथै, अली, कबीर दुहन सिंहजस्ता दक्षिण भारतीय कलाकारसँगै नेपाली कलाकारहरू सरोज खनाल, रेखा थापा, सञ्चिता लुइँटेल, प्रशान्त ताम्राकार, किरण केसी, रविन्द्र झा, आदर्श मिश्र लगायतलाई पनि ट्रेलरमा स्थान दिइएको छ।
फिल्मकी निर्मात्री समेत रहेकी नीता ढुंगानाले यो फिल्म निर्माणमा पहिलो अनुभव लिएकी हुन्। ट्रेलर रिलिज कार्यक्रममा उनले फिल्म निर्माणमा ६ करोड नेपाली खर्च भएको जानकारी दिइन्। भारतमा पनि यो फिल्म रिलिजको तयारी भइरहेको उनले बताइन्।
फिल्मको टिजर रिलिज भएपश्चात्, यसलाई साउथको लोकप्रिय फिल्म ‘मगधीरा’बाट प्रभावित रहेको टिप्पणी गरिएको थियो। तर, निर्देशक चन्द्र पन्तले कुनै विदेशी फिल्मको एक सट पनि नक्कल नगरेको दाबी गर्दै फिल्मलाई नयाँ दुनियाँ देखाउने प्रयास रहेको स्पष्ट पारे।
हरिहर अधिकारीको कथा, प्रतिक पौडेल, चन्द्र पन्त र हरिहरको पटकथा तथा संवाद रहेको यो फिल्मलाई बलिउड छायाँकार कवीरलालले खिचेका छन्। कवीरलालले ‘वेलकम ब्याक’, ‘परदेश’, ‘दिल आपके पास है’ जस्ता चर्चित हिन्दी फिल्म खिचिसकेका छन्। ‘ह्रस्व दीर्घ’को कार्यकारी निर्माता धनन्जय गलानी हुन् भने प्रस्तुतकर्ता नीता फिल्मस् छ।