७ बैशाख २०८१, शुक्रबार

यो सरकार पाँच वर्ष चल्यो भने नेकपा रुट आउट हुन्छ, हाम्रो जनमत समाप्त हुन्छ: झलनाथ खनाल

Jhalanath Khanal
फाइल फोटो

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार पाँच वर्ष चल्ने हो भने जनमत समाप्त हुने बताएका छन् ।

साहना प्रधान प्रतिष्ठानद्वारा सोमबार आयोजित ‘नेकपाको आजको समस्या के हो ? सम्भावना के हो ?’ शीर्षकको भर्चुअल छलफल कार्यक्रममा बोल्दै खनालले यस्तो बताएका हुन । ‘अब यथास्थितिमा रहे हाम्रो ७१ वर्षको यात्रा धरासयी बन्छ ।’

आन्दोलनलाई बचाइराख्न अब सरकार र पार्टीको समिक्षा गरेर पुनः गठन गरेर जानुको अर्को विकल्प नरहेको उनको भनाई छ ।

पूर्वप्रधानमन्त्री समेत रहेका खनालले भने, ‘यो सरकार पाँच वर्ष चल्यो भने नेकपा रुट आउट हुन्छ, हाम्रो जनमत समाप्त हुन्छ ।’

सरकारले प्रभावकारी काम गर्न नसक्दा आधा जनमत खुम्चिसकेको खनालको भनाइ छ । उनले नेकपासामु तीन वटा विकल्प रहेको बताए ।

वरिष्ठ नेता खनालले ओलीले पाँच वर्ष सरकार चलाए भबिष्य अनिश्चित हुने बताए । नेता खनालले भने, ‘अहिले जसरी केपी ओलीले सरकार सञ्चालन गरिरहनु भएको छ, त्यसरी पाँच वर्ष उहाँलाई सरकार सञ्चालन गर्न दिने हो भने नेकपा ‘रुट’ आउट हुन्छ, भविष्य अनिश्चित हुन्छ ।’

मन्त्रिपरिषद्, योजना आयोगदेखि सबै स्थानमा ओलीले आफूले चाहेको वा गुटको मानिसलाई मात्रै ठाउँ दिएको बताउँदै उनले भने, ‘नयाँ ढङ्गले नसोची हुँदैन, सुधार नगरी हुँदैन । त्यस्तो गर्न सक्यो भने मात्रै नेकपाले पुनःजीवन पाउने सम्भावना छ ।’

नेता खनालले अहिलेको अन्तरबिरोध ओली गुट र नेकपाबीचको भएको बताए । भने, ‘अहिलेको नेकपाभित्रको अन्तरबिरोध पार्टी र केपी ओली गुटबीचको हो ।’ प्रधानमन्त्री ओली गुटको कारण नवउदारबादीहरु हाबी भएको र समाजवादीहरु कमजोर भएको उनको भनाई छ । नेता खनालले निकै ठुलो सम्भावना र सपनाको बीचमा प्रधानमन्त्री ओली नेतृत्वको सरकार बनेपनि गत अढाई वर्ष नेपाल कम्युनिष्ट पार्टीका लागि असाध्यै तितो भएको बताए ।

वरिष्ठ नेता खनालले अघि सारेका तीन विकल्प उनकै शब्दमा :

यथास्थितिमा जाने : पार्टीमा फटुने हो कि भनेर बस्ने, प्रधानमन्त्री केपी शर्मा ओलीबाट त्रसित भएर बस्ने । यो सरकार पाँच वर्ष चल्ने हो भने नेकपा ‘रुट आउट’ हुन्छ । नेकपाको जनमत समाप्त हुन्छ । अहिले नै आधा जनमत खुम्चिसकेको छ । जताततै सरकारको विरोध बढेको छ । एकपछि अर्को अनियमिततालाई सरकारले नियन्त्रण गर्न सकेको छैन । प्रधानमन्त्रीले कतै केही भएको छैन भन्दै आउनु भएको छ । यसरी जाँदा भविष्य अन्धाकार हुने देखिन्छ ।

सुधार गरेर जाने : पार्टी भित्रै सुधारको आवश्यकता छ । सरकार, नीति र पद्धतिमा सुधार गर्नुपर्दछ । सरकार, नीति, कार्यक्रमलाई पुनर्गठन गर्नुपर्दछ । जसले गर्दा अगामी निर्वाचनमा बहुमत ल्याउन सकिन्छ । पार्टीले ल्याएको दुई तिहाई सरकारले खाइसकेको छ । तत्कालाई दुई तिहाईको कल्पना गर्न सक्दैनौं ।

अनिश्चित भविष्य: सुधार गर्न नसकेकर यथास्थितिमा बस्यौं भने अनिश्चित तिर जान्थ्छौं । सही नीति लिन सकेनौं भने भूराजनीतिक कारणले कम्प्युनिष्ट पार्टी मात्रै होइन कुनै पनि राजनीतिक शक्ति टिक्न सक्दनौं ।

नेता खनालले अब केन्द्रदेखि प्रदेशसम्मका सरकार पुन गठन गर्नुपर्ने बताए । यसैगरी जनसंगठन र पार्टीका सबै कमिटिहरुलाई पूर्णता दिएर चलायमान बनाउनुपर्ने उनको भनाई छ ।

बिश्लेषक डा. खगेन्द्र प्रसाईले अहिले सरकार हिडिरहेको बाटो समाजवादी बाटो नभएको दाबी गरे । सरकारले पूर्णत समाजवादी कार्यक्रमबाट बिमुख भएको उनको भनाई छ ।

छलफल कार्यक्रमको सहजकर्ता नेकपा केन्द्रीय सदस्य ठाकुर गैरेले नेकपाले कस्तो मुलुक बनाउन चाहेको हो र त्यो अन्योलता रहेको बताए । पार्टीभित्र सबैको सम्मानजनक अस्तित्व नरहदा समस्या आएको उनको भनाई छ ।

प्रतिष्ठानकी अध्यक्ष तथा नेकपा केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले पार्टीभित्र जारी बिरोध अन्तरबिरोधका कारण नेकपाको भबिष्य र अबका बाटाहरु बारेमा अनेकौं प्रश्नहरु उठेको बताइन् । ती प्रश्नहरुको बारेमा गम्भिर छलफल गरेर अघि बढ्नुपर्ने बताइन् ।