१३ बैशाख २०८१, बिहीबार

भारतीय हस्तक्षेपका कारण नेपाली भूमि डुबानमा पर्यो–गृहमन्त्री थापा

Ram Bhadhur Thapa Badal

गृहमन्त्री रामबहादुर थापा बादलले भारतीय हस्तक्षेपका कारण तराईका क्षेत्र डुवानमा परेको बताएका छन् ।

सोमबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले भारतले सीमा क्षेत्रमा सडकरुपी बाँध बनाउँदा नेपाली भूमि डुवानमा परेको भन्दै यस्तो गतिविधि हस्तक्षेप नै भएको बताए ।

उनले भने, ‘भारतले एकतर्फी रुपमा बाँध बनाएको छ । बाँध बनाएपछि त्यसको निकास पनि दिनुपर्छ, उनीहरुले आफ्नो हितमा रहेर बाँध बनाएका छन् ।’

‘राजनीतिक रुपमा भन्दा यो भारतले नेपालमा गरेको हस्तक्षेप नै हो’ उनले भने, ‘उनीहरुले आफ्नो हित हेरे, तर नेपालको हितलाई ध्यान दिएनन् ।’

त्यस्तै मन्त्री थापाले भारत सरकारसँग पटक पटक भएका सन्धी सम्झौताहरु कार्यान्वयनमा नआउँदा समस्या आएको बताए ।

भारतले सीमा क्षेत्रमा बनाएको बाँध र संरचना हटाउन पहल गरे पनि सार्थक नभएको मन्त्री थापाले बताए । ‘भारतीय प्रधानमन्त्री नेपालमा आउँदा यससम्बन्धी सम्झौताहरु भएका थिए । सम्झौताको सही ढंगले कार्यान्वयन भएको छैन’ उनको भनाइ छ ।

यो बाह्य हस्तक्षेपको कारणले हो’–मन्त्री थापाले भने–‘बाह्य हस्तक्षेप रोक्न नसक्दा पनि हामीलाई डुबायो ।’ त्यस्तै मन्त्री थापाले थपे–‘भारतले समानान्तर रुपमा बाँध, बाँधरुपी बाटो बनाउँदा पनि हरेक वर्ष तराईमा डुबान हुने गरेको छ । यो एक ढंगले भारतीय पक्षले नेपालमा गरेको हस्तक्षेप नै हो । हामीले राजनीतिक रुपमा भन्दा त्यो हस्तक्षेप नै हो ।’

उनले नेपालको डुबान रोक्न भारतले निकास दिन आवश्यक रहेको बताए ।

यस्तै गृहमन्त्री रामबहादुर थापा बादलले बाढीपहिरो र डुबान रोक्नका लागि सरकारले उपयुक्त नीति योजना बनाउन आवश्यक रहेको बताए ।

विपत्तिबाट आत्मरक्षा गर्ने नागरिकको पनि पूर्णदायित्व भएकाले यसतर्फ जनचेतना जगाउन पनि आवश्यक भएको उनले बताए । पहाडमा बाढी पहिरोबाट क्षति हुनुको मुख्य कारण अव्यवस्थित बसोबास रहेको उनको भनाइ छ । जोखिमयुक्त स्थानमा एकीकृत बस्ती बसाउन आवश्यक रहेको मन्त्री थापाले बताए ।

मन्त्री थापाले प्रकृतिको नियमलाई रोक्न नसक्ने बताउँदै मानवीय कारणबाट उत्पन्न विपत्तिबाट क्षति पुग्ने बताए ।

उनले भने, ‘भूकम्प आउँछ त्यसलाई रोक्न सकिँदैन तर भूकम्पप्रतिरोधी घर बनाउनुपर्छ । सरकारले यस किसिमको नीति बनाउन आवश्यक छ । हाम्रो अज्ञानताका र कमजोरीका कारण पनि प्राकृतिक विपत्तिबाट क्षति हुने गरेको छ । बाढीमा बगेको दाउरा लिन जाँदा बगाउँछ भन्ने अज्ञानताको कारण पनि क्षति हुने गरेको छ ।’

यस्तै अवैज्ञानिक विकास नीतिका कारण पनि प्राकृतिक विपत्ति निम्त्याउने गरेको उनले बताए ।

मनसुन उच्च अवस्थामा पुग्ने भएकाले पहिरोको डर रहेको र कहाँ क्षति हुनसक्छ भन्ने बारेमा सरकारले अध्ययन गरिरहेको बताए । विपत व्यवस्थापनका लागि स्थानीय तहलाई स्रोत साधन सम्पन्न बनाउने मन्त्री थापाको भनाइ छ ।

मन्त्रीसँगको छलफलपछि समितिले नेपाली सीमामा भारतद्वारा निर्मित सडक र बाँध तत्काल हटाउन पहल गर्न सरकारलाई समितिले निर्देशन दियो ।