अभिनेता सलोन बस्नेतले आफ्नो नयाँ चलचित्र ‘रंगी’को छायांकन सुरु गरेका छन् । मंगलबार काठमाडौंको नक्सालमा स्क्रिप्ट र क्यामेरा पूजा गर्दै छायांकन थालिएको हो ।
यसै वर्ष रिलिजको तयारी गरिएको चलचित्रको छायांकन अवधि ३० दिनको रहने निर्माण पक्षले जनाएको छ । चलचित्रको सम्पूर्ण छायांकन काठमाडौं उपत्यकाभित्र हुनेछ । सलोन स्वयं प्रस्तुतकर्ता रहेको चलचित्रका निर्देशक सुरेश न्यौपाने हुन् ।
चलचित्रमा सलोनसहित पूर्व मिस नेपाल नम्रता श्रेष्ठ, दीलिप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, विशाल पहारी लगायतको पनि अभिनय रहनेछ । नम्रताले यही फिल्मबाट अभिनेत्रीको रुपमा डेब्यु गर्न लागेकी हुन् । बाबु-छोरीको कथामा बन्न लागेको चलचित्रको निर्मातामा सक्षम सुवेदी छन् ।
सुमन गजमेरको लेखन रहेको चलचित्रमा सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम विसीको संगीत तथा कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी रहनेछ ।