२० बैशाख २०८२, शनिबार

भारतीय निर्देशक अनुराग कश्यप नेपाली फिल्म ‘पूजा, सर’को कार्यकारी निर्माता

pujar sir and anurag kashyap

विश्व प्रतिष्ठित फेस्टिभलहरु चहारिरहेको दीपक रौनियार निर्देशित फिल्म ‘पूजा, सर’लाई लिएर एउटा महत्त्वपूर्ण खबर बाहिरिएको छ । फिल्मको कार्यकारी निर्मातामा बलिउड निर्देशक अनुराग कश्यप जोडिएका छन् । हलिउड म्यागजिन भेराइटीले यसबारेमा समाचार प्रकाशन गर्दै च्यानल फोरले यूके र आयरल्यान्डका लागि फिल्मको राइट्स खरिद गरेको पनि जनाएको छ ।

अनुराग बलिउडका सफल निर्देशक मानिन्छन् । ‘ग्याङ्स अफ वासेपुर’बाट निर्देशनमा आफूलाई स्थापित गरेका उनी कलाकार पनि हुन् । उनले ‘एके भर्सेस एके’, ‘भूतनाथ रिटर्न्स’, ‘अकिरा’ जस्ता फिल्ममा काम गरेका छन् । उनी अभिनीत पछिल्लो फिल्म ‘महाराजा’ निकै चर्चित रह्यो । गत भदौमा उनी नेपाली फिल्म ‘शाम्बाला’को प्रिमियरमा सहभागी हुन काठमाडौं पनि आएका थिए ।

‘पूजा, सर’ यस वर्ष (२०२४)को सुरुवातमा भेनिस फिल्म फेस्टिभलमा छनोट भएर प्रदर्शन भएको थियो । त्यहाँ उपस्थित दर्शकले फिल्मलाई १० मिनेटको ‘स्ट्यान्डिङ ओभेसन’ दिएका थिए । यसपछि मुम्बई फिल्म फेस्टिभल, बुसान जस्ता प्रतिष्ठित फेस्टिभलमा पनि फिल्म प्रदर्शन भइसकेको छ । फिल्मको नेपाल प्रदर्शन मिति २०२५ को मार्च १४ लाई घोषणा गरिएको छ ।

स्विट्जरल्यान्ड, जर्मनी र अस्ट्रिया जस्ता देशमा पनि बिक्री भइसकेको ‘पूजा, सर’ सत्य घटनाबाट प्रेरित रहेको जनाइएको छ । फिल्मले नेपाल र भारतको सीमावर्ती शहरमा अपहरणमा परेका दुई बालकलाई मुक्त गराउन प्रहरीले चालेको खोजी अप्रेसनको कथा उठाएको छ ।

आशा मगरतीको शीर्ष भूमिका रहेको फिल्ममा दयाहाङ राई, निकिता चाण्डक, ऋचा शर्मा, विजय बराल, गौमाया गुरुङ, आरती मण्डल, घनश्याम मिश्र, पशुपति राई, पुष्पा यादव लगायतको पनि अभिनय छ । फिल्मको निर्माण आदि फिल्म्सका लागि दीपक रौनियार र आशा मगराती, बासुरी फिल्म्सका लागि रामबाबु गुरुङ र ट्यानहौसर गेटका लागि एलन आर. मिलिगनले गरेका हुन् ।