Close Me
२१ मंसिर २०८१, शुक्रबार

दशैंमा बेला कस्तो खाना र कसरी खानुपर्छ ?

Meat in Dashain

दशैं भन्नेबित्तिकै मासु, चिल्लो र नुनिलो बढी भएको खानपान बढी हुने गर्छ । यस्तो बेला असन्तुलित रुपमा खाएको खानाले स्वास्थ्यमा समस्या त निम्त्याउँछ नै, दीर्घरोगीलाई झन् असर गर्न सक्छ । दशैंमा बेला कस्तो खाना र कसरी खानुपर्छ ? के सावधानी अपनाउनुपर्छ ?

दशैं लागिसक्यो । दशैं भन्नासाथ घर परिवारसँग बस्ने, रमाइलो गर्ने, मान्यजनसँग आशीर्वाद ग्रहण गर्ने र मिठा-मिठा परिकार बनाएर खानपिन गर्ने गरिन्छ । यो बेला विषेशगरी मासुको परिकारको बढी प्रयोग हुन्छ । सँगै चिल्लो, गुलियो र नुनिलो बढी खाइन्छ । कतिपयले मदिरा सेवनसमेत गर्छन् भने बासी खानासमेत खाइन्छ । तर यस्तो असन्तुलित खानाले स्वास्थ्यमा तत्काल तथा दीर्घकालीन रुपमा असर गर्न सक्ने चिकित्सक बताउँछन् । झाडापखाला, वान्ता तथा पेटको समस्यादेखि मधुमेह, उच्च रक्तचाप, हृदयघातलगायत जटिल रोगको समेत जोखिम हुन्छ ।

यस्तो बेला दीर्घ रोगीले विशेष सतर्कता अपनाउनुपर्छ । आफूले खाइरहेको औषधि बिर्सनुहुन्न । एक दिन त हो भनेर आफूलाई चिकित्सकले नखानु भएको खाना खान हुन्न । सही समयमा सुत्ने-उठ्ने गर्नुपर्छ । पानीको प्रसस्त प्रयोग गर्ने, माछा-मासुमात्र नभएर हरियो सागसब्जी तथा फलफूलको समेत प्रयोग गर्नुपर्छ । स्वस्थ्यकर खाना पनि ठिक्क मात्रामा मात्र खानुपर्छ ।

अझ कतिपयले दशैंमा केही स्वास्थ्य समस्या देखिएमा रमाइलोको माहोलमा आफन्तलाई नभन्ने वा पछि उपचार गराउँला भनेर समेत बस्ने गरेको पाइन्छ। यसले झन् जटिलता थपिने जोखिम रहन्छ । त्यसैले आफूलाई असहज महसुस भएमा वा केही समस्या देखिएमा तत्काल स्वास्थ्यकर्मीको सल्लाह लिनसमेत चिकित्सकले सुझाएका छन् ।

दशैंमा मासु खाँदा के–के कुरामा ध्यान दिनुपर्ने हुन्छ तल बताईएको छ ।

१. रातो हैन सेतो मासु खानुस्
दशैंमा माछा मासुको प्रयोग अत्याधिक हुन्छ । धेरैका घरमा खसीबोका र च्याङ्ग्रा काटिन्छन् । माछा मासुमा पनि दशैंमा रातो मासुको प्रयोग ज्यादा हुन्छ । रातो मासुमा यसै पनि चिल्लोको मात्रा बढी हुन्छ । यस्तो मासुमा भएको कोलस्ट्रोल र फ्याटी एसिडले स्वास्थ्यलाई बढी हानी गर्छ । यसले मुटु रोगीलाई भन्दा बढी हानी गर्छ भने मुटु रोगको खतरा पनि निम्त्याउँछ । सेतो मासु भन्नाले कुखुरा, माछा, अष्ट्रिज, इमुलगायतको मासुलाई जनाउँछ ।

२. छालायुक्त मासु नखानुस्
छालासहित जनावरको खुट्टा, पखेटा, साँप्रोमा चिल्लो पदार्थ, कोलस्ट्रोल र क्यालोरीको मात्रा बढी हुन्छ । यसले पनि विभिन्न रोगहरुलाई निम्तो दिन्छ ।

३. मसलाको प्रयोग कम गर्नुस्
दशैंको परिकारहरुमा मसलाको प्रयोग अत्याधिक हुने गर्छ । चिल्लोसँगै मसला धेरै प्रयोग गर्दा त्यसले स्वास्थ्यमा विभिन्न समस्या ल्याउन सक्छ । मासुका परिकारमा बेसार, अदुवा, खुर्सानी, जिरा, मरिच, मेथी, सुप, धनियाँ धेरै राख्नु पनि उचित हुँदैन ।

४. धुम्रपान र मद्यपान नगर्नुस्
दशैंको बाहनामा धेरै धुम्रपान र मद्यपान नगर्दा नै बेस हुन्छ । रोगी मान्छेले त झन् बिल्कुल गर्नु हुँदैन । धुम्रपानले मुटु र फोक्सोलाई हानी गर्छ । मद्यपानले मुटुरोगको खतरा बढाउँछ । झन् रोगी त त्यसबाट टाढा नै बस्दा राम्रो हुन्छ ।

५. ड्राइफुड र कोल्ड ड्रिंक्स कम गर्नुस्
दसैंका बेलाचिनी र चिनीबाट बनेका परिकार, प्लास्टिक र टिनमा राखिएका अचार, ड्राइफुड, फलफूल, जंकफुड नखाएकै बेस हुन्छ । यसैगरी विभिन्न कोल्ड ड्रिंक्स, आइसक्रिम, मह, जाम, केकलगायत पनि खानु मधुमेहका रोगीहरुलाई हानिकारक छ । सुगर, प्रेसर र मुटुका बिरामीलाई पनि यसले लाभ गर्दैन ।

६. फुड प्वाइजनबाट जोगिनुस्
यो समयमा प्रोटिनयुक्त खानेकुरा बढी खाने, फुर्सदको समय भएकाले आराम बढी गरिने हुँदा हामीले खाएको खानेकुरा अपच भएर धेरै बिरामी पनि हुने गरेको पाइने गरेको छ । खान पिनकै कारण दशैं दशा बनेको कतिपय उदाहरण छन् । चाडवाडलाई नेपालीहरु चिल्लो, पिरो, अमिलो र बोसोयुक्त खानेकुरा खान मन पराउने गरेको पाइन्छ । तर, तिनीहरूले मात्रा नमिलाई खाँदा शरिरलाई हानि गर्ने गर्छ ।

७. शाकाहारीमा जोडदिनुस्, व्यायाम गर्नुस्
दशैंमा खानाको मात्रा सबैका लागि एकनास भने हुँदैन । धेरै शारीरिक काम गर्नेले धेरै खानुपर्छ, थोरै काम गर्नेले थोरै खानुपर्छ । कामकम, माम धेरै गर्नुहुँदैन । शाकाहारी भोजन मुटुरोगका लागि फाइदा जनक हुन्छ । तर, नियन्त्रित रूपमा माछा मासु खाएमा हानि हुँदैन ।

    सम्बन्धित समाचार...