Close Me
१३ माघ २०८१, आईतवार

प्रचण्डको आरोप: एमालेको संविधान संशोधनको उद्देश्य संविधान खारेज गर्ने

prachanda pm
फाइल फोटो

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई संविधान संशोधनको नाममा संविधान खारेज गर्ने उद्देश्य राखेको आरोप लगाएका छन् ।

बुधबार विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँगको छलफलमा उनले एमालेको संघीयता र गणतन्त्रप्रति असन्तुष्टि रहेको दाबी गरे ।

प्रचण्डले एमाले नेतृत्वको सिद्धान्तलाई “बयलगाडा सिद्धान्त” भन्दै आलोचना गरे । उनले भने, “एमालेलाई संघीयता र गणतन्त्र मन परेको छैन, हिजो पनि संसद् विघटन होइन, संविधान विघटन गर्ने उद्देश्य थियो ।”

उनले यो वर्तमान सरकार संविधान संशोधनका लागि नभई सुशासन र भ्रष्टाचारविरुद्धको अभियानका कारण बनेको बताएका छन् । “यो सरकारको उद्देश्य संविधान संशोधन होइन, सुशासन र भ्रष्टाचारविरुद्धको कामले अप्ठेरोमा परेको अनुभव भएपछि गठबन्धन बनाइएको हो,” प्रचण्डले भने ।

संविधान संशोधनको अधिकार माओवादी केन्द्रलाई रहेको बताउँदै उनले संविधान कार्यान्वयन नै प्रमुख प्राथमिकता रहेको उल्लेख गरे । प्रचण्डले अझै प्रदेशहरूले पाउनुपर्ने अधिकार नपाएको र त्यस विषयमा ध्यान दिनुपर्ने आवश्यकता रहेको पनि जोड दिए ।

संविधान संशोधनको प्रस्ताव उठाए पनि यसको मुख्य उद्देश्य एमालेको संविधानप्रतिको दृष्टिकोणमा रहेको भन्दै प्रचण्डले संविधानको सही कार्यान्वयन नै अहिलेको महत्वपूर्ण चुनौती रहेको बताए ।