
यातायात व्यवसायीहरुले बाढीपहिराले मुलुकभरका विभिन्न राजमार्गका पुल र बाटो बगाउँदा यातायात क्षेत्र समस्यामा परेका बताएका छन् ।
नेपाली कांग्रेसनिकट नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संक, नेपाल कम्युनिष्ट पार्टी (एमाले)निकट नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संगठन र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)निकट गणतान्त्रिक यातायात व्यवसायी संगठनले शुक्रबार संयुक्त विज्ञप्ति जारी गरी चाडपर्वको नजिक भएका विपद्जन्य घटनाले नेपालको यातायात क्षेत्र समस्यामा परेका बताएका हुन् ।
व्यवसायी संघसङ्गठनले बाढी र पहिरोबाट निधन भएकाप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामनाका साथै हराएकाको यथाशीघ्र खोजी गर्न सरकारसँग आग्रह गरेका छन् । घाइतेको उपचार, उद्धार, राहत र पुनःस्थापनालाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।
यातायात संघसंस्थाहरुले बाढीपहिराको घटनाले चाडपर्वको सम्मुखमा व्यवसायीको नियमित गतिविधिमा असर पुग्नाका साथै बिपी राजमार्ग पूर्ण रुपमा अवरुद्ध हुँदा सयौँ सार्वजनिक सवारीसाधन र मजदुर अलपत्र परेको बताउँदै तत्काल अलपत्र सवारीसाधन तथा यात्री उद्धार गर्नुपर्ने व्यवसायीको माग छ ।
व्यवसायीहरुले दसैँ अगावै समस्या समाधान गर्ने पहलकदमी लिनाका साथै यातायात व्यवसायी तथा मजदुरलाई तत्काल राहत पुग्ने किसिमको वित्तीय सहयोगको कार्यक्रम ल्याउन सरकारको ध्यानाकर्षसमेत गरेका छन् ।
संयुक्त विज्ञप्तिमा नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य, नेपाल लोकतान्त्रिक यातायात व्यवसायी सङ्गठनका अध्यक्ष श्रीप्रसाद मैनाली र गणतान्त्रिक यातायात व्यवसायी सङ्गठनका अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
जोखिमपूर्ण तरिकाले यात्रु बोक्नेलाई कारबाही
जोखिमपूर्ण तरिकाले यात्रु बोक्ने सवारीसाधनका चालकलाई कारबाही गर्न थालिएको छ । जिल्लाको ग्रामीण क्षेत्रमा यात्रु ओसार्ने बोलेरोका चालक कारबाही पर्ने गरेका छन् ।
शुक्रबार बिहान जिल्लाको ज्वालामुखी, त्रिपुरासुन्दरी, नेत्रावतीलगायत गाउँपालिकाका विभिन्न बस्तीबाट छतमा यात्रु राखेर ओसारपसार गर्ने पाँचवटा बोलेरो जिप जरिवानासहित कारबाहीमा परेका जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीले जनाएको छ ।
छतमा राखेर यात्रु ओसारपसार गर्ने, यात्रु बोक्ने अनुमति नभएका सवारीसाधनले क्षमताभन्दा बढी यात्रु राखेर जोखिमपूर्ण ढङ्गले सवारी चलाउने गरेको पाइएकाले पछिल्लो दुई दिनमा ३२ वटा सवारी कारबाहीमा परेका जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सुरज श्रेष्ठले जानकारी दिए।
उनका अनुसार प्रयोजन विपरीत सञ्चालित तीनवटा, छतमा राखेर यात्रु बोक्ने १४, सवारीसाधनको अवस्था ठीक नभएको पाँचसहित ३२ वटा सवारीसाधन कारबाहीमा परेका हुन् ।
सडक सञ्जाल सहज नभएका ग्रामीण बस्तीहरुबाट बोलेरो जिपले सर्वसाधारणलाई सदरमुकाम धादिङबेँसी ल्याउने–लाने गर्छन् । सडक सञ्जाल पुगे पनि जिल्लाको अधिकांश भागमा यात्रुवाहक बस सञ्चालन हुने सडक नभएपछि सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । अनुमति नभएका बोलेरो जिपहरुले मनोमानी ढङ्गबाट भाडा असुलेको गुनासो आएपछि ट्राफिक प्रहरीले सवारीसाधनको चेकजाँचलाई कडाइ गरेको प्रहरी निरीक्षक श्रेष्ठले बताए ।
बर्सातको समयमा भत्किएको बाटो मर्मत हुन नसक्दा ग्रामीण भेगमा ठूला यात्रुवाहक बस पुग्नसक्ने अवस्था छैन । बोलेरो जिपहरु चल्ने सडकमा ठाउँठाउँमा सादा पोसाकका प्रहरी खटाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । विभिन्न बहानामा यात्रु ठगिनबाट जोगाउन सदरमुकाम धादिङबेँसीको पुछारबजारमा यात्रु सहायताकक्ष समेत स्थापना गरिएको छ ।
प्रहरी प्रमुख आफैँ निरीक्षणमा
विभिन्न बहाना बनाएर यात्रुसँग बढी भाडा उठाउने सवारीलाई लक्षित गरी प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे र प्रहरी उपरीक्षक दीपेन्द्र शाहीसहित सुरक्षा निकायको टोली निरीक्षणमा खटिएको छ ।
अप्ठ्यारो सडक, जामको पीडालगायत विभिन्न बहानामा राजमार्ग क्षेत्रमा यात्रुसँग बढी भाडा असुल्ने गरेको गुनासो आएपछि त्यस्ता सवारीको आफैँले छड्के चेकजाँच गरी कारबाही गरिरहेको प्रहरी उपरीक्षक शाहीले बताए ।
प्रमुख जिल्ला अधिकारीसहितको टोलीले शुक्रबार साँझ पृथ्वी राजमार्गमा छड्के चेकजाँच गरेको छ । केही दिनदेखि यो टोलीले राजमार्ग क्षेत्रमा रात्रिकालीन छड्के चेकजाँच गरिरहेको छ । यात्रुवाहक सवारीले खाजा खाना खुहाउने होटल र खाद्यान्न पसलहरुको समेत चेकजाँच गरिरहेको प्रहरी उपरीक्षक शाहीले जानकारी दिए।
शुक्रबार साँझ यात्रु लिएर सल्ल्यानटारबाट धादिङबेँसी हुँदै काठमाडौँ आउजाउ गर्ने विद्युतीय माइक्रोबसले रु सात सयसम्म भाडा लिएको पाइएपछि कारबाही गरिएको उनले जानकारी दिए । काउन्टरबाट तोकिएको भाडामा टिकट काटिए पनि बीच बाटोमा पुगेर यात्रुसँग भाडा थप गरेर लिने गरेको गुनासो यात्रुहरुले गरिरहेका छन् ।