
घटस्थापनाको विदालाई अवसर पारेर बिहीबारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘बेहुली फ्रम मेघौली’ले घरेलु बक्स अफिसमा शानदार सुरुवात गरेको छ। फिल्मले पहिलो दिन नै ८० लाख रुपैयाँको ओपनिङ गरेको छ। यो फिल्म नेपाली फिल्मको इतिहासमै ३४० शो पाउनेमा अग्रणी रहेको छ, जसले गर्दा यसको शुरुआती प्रदर्शन निकै प्रभावकारी देखिएको हो। वितरक कम्पनी डिसिएनका अनुसार, बिहीबार देशका धेरै सहरहरूमा फिल्मले बिहानदेखि नै उच्च अकुपेन्सी कायम गरेको थियो।
शुक्रबारको दिन पनि फिल्मको प्रदर्शनले राम्रो गति लिएको छ। कामकाजी दिन भएका कारण बिहानको शोमा अकुपेन्सी औसत देखिए पनि दिउँसोपछि दर्शकको चहलपहल बढेको छ। साँझ ६ बजेपछि काठमाडौं लगायत बाहिरका धेरै सहरमा अकुपेन्सी दर ६० प्रतिशत नाघेको बताइएको छ। केही शोहरू त हाउसफुल हुने नजिक पुगेका छन्। अनुमानअनुसार, शुक्रबारको कलेक्शन २५ देखि ३० लाख रुपैयाँसम्म पुग्न सक्ने देखिएको छ।
यसैबीच, शुक्रबार हलिउडको प्रतिक्षित फिल्म ‘जोकर २’ पनि प्रदर्शनमा आएको छ, जसले ‘बेहुली फ्रम मेघौली’लाई चुनौती दिने प्रक्षेपण गरिएको थियो। यद्यपि, नेपालका धेरै मल्टिप्लेक्सले दुवै फिल्मलाई लगभग समान शो वितरण गरेका छन्। अकुपेन्सीको हिसाबमा भने ‘बेहुली फ्रम मेघौली’ अघि देखिएको छ।
फिल्मको दुई दिनको प्रदर्शन सफल रहँदा, शनिबार फिल्मको व्यापारमा थप उछाल आउने सम्भावना छ। आइतबारबाट भने फिल्मको वास्तविक परीक्षा सुरु हुनेछ, जहाँ दर्शक प्रतिक्रियाले व्यापारको दिशा निर्धारण गर्नेछ। हालसम्म दर्शकहरूले फिल्मलाई सकारात्मक प्रतिक्रिया दिएको देखिन्छ।
तर, फिल्मको पाइरेसी समस्याले निर्मातालाई चिन्तित बनाएको छ। टिकटकजस्ता प्लेटफर्ममा दर्शकहरूले फिल्मको क्लाइमेक्स समेत खिचेर राखिदिँदा निर्माताको नोक्सान भएको छ। तीन मिनेटसम्मको क्लिप्स टिकटकमा राख्ने जस्ता गैरकानुनी क्रियाकलापले नेपाली फिल्म उद्योगलाई नकारात्मक असर पारिरहेको छ।
यसका साथै, मल्टिप्लेक्स चेन ‘क्यूएफएक्स’ले ‘बेहुली फ्रम मेघौली’को टिकट काट्ने दर्शकलाई स्कुटर र मोबाइल उपहार दिने घोषणा गरेको थियो। विर्तामोडस्थित वान स्टप मलबाट टिकट काट्ने श्रद्धा प्रसाइँले मोबाइल जितेकी छिन् भने अन्य विजेताहरुको घोषणा क्रमशः हुने जनाइएको छ।