१९ बैशाख २०८२, शुक्रबार

सहकारी ठगी प्रकरणः समितिले प्रधानमन्त्रीलाई सोधेरमात्रै प्रतिवेदनलाई पूर्णता दिने

PM 1.jpg 24
फाइल फोटो

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्ने भएको छ ।

समितिले शनिबार साँझ प्रधानमन्त्री ओलीसँग छलफल गर्न लागेको हो । प्रधानमन्त्रीसँगको छलफलपछि मात्रै प्रतिवेदनलाई पूर्णता दिने समितिको तयारी रहेको छ ।

समितिले सहकारीसँग जोडिएको विभिन्न व्यक्तिहरुसँग बयान लिने काम सकिसकेको छ । गत भदौ २२ गते नै प्रतिवेदन बुझाइसक्नुपर्ने समितिले काम नसकिएको भन्दै प्रतिनिधि सभाबाट १५ दिनको म्याद थप गराएको थियो ।

छानविन समितिको सभापतिमा नेकपा (एमाले) का नेता तथा सांसद सूर्य बहादर थापा क्षेत्री छन् । समितिले हिजो गृहमन्त्री रमेश लेखक, गृह सचिव गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरलगातसँग छलफल गरेको थियो । साथै, नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ जोडिएको मितेरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कुम्मराज गुरुङसँग पनि छलफल गरेको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोप लगाउँदै तत्कालीन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सदन चल्न नदिएपछि छानविनका लागि समिति बनेको थियो ।

अहिले कांग्रेस सत्तामा पुगेको अवस्थामा उपसभापति धनराज गुरुङ र अर्को सत्तारुढ दल नेकपा (एमाले) का सांसद ऋषिकेश पोखरेल पनि सहकारी ठगीमा जोडिएको घटना बाहिर आइरहेको छ । यस्तो अवस्थामा छानविन समितिले प्रतिवेदन सार्वजनिक गरिरहँदा धेरैको मनमा आशंका जन्मिएको छ ।

    सम्बन्धित समाचार...