नेपालमा वायु प्रदूषणकै कारण वार्षिक ५० हजार मानिसको निधन, नियन्त्रणमा सरकार किन कमजोर ?
विश्वभर बर्सेनि ६७ लाख मानिसको मृत्युको कारक बनिरहेको वायु प्रदूषण सबैका लागि चुनौती बनिरहेको छ । उद्योग, कलकारखाना, डिजेल तथा पेट्रोलबाट चल्ने गाडीबाट निस्कने धुँवासहित हिउँदमा वन जंगलमा लाग्ने डढेलोले वातावरण प्रदूषित मात्र बनाएको छैन् जलवायु परिवर्तनमा पनि प्रत्यक्ष असर पारिरहेको छ । नेपालमा पनि वायु प्रदूषणकै कारण वार्षिक ५० हजार मानिसको मृत्यु हुने गरे पनि नियन्त्रणका प्रयास कमजोर छन् ।
नेपालमा दैनिक सरदर १ सय ३० जनाले फोक्सो र स्वासप्रस्वाससम्बन्धी रोगका कारण ज्यान गुमाउने गरेका छन् । त्यो भनेको वार्षिक करिब ५० हजार मानिसको मृत्यु हुनु हो । यसको मूल कारण हामीले फेर्ने हावा नै हो । हावामा हुने दुषित कणले फोक्सो, मुटु तथा श्वासप्रस्वाससम्बन्धी रोग लाग्छ । अझ दमलगायत रोगका कारण आजीवन औषधि सेवन गर्ने र उपचार गर्नेको तथ्यांक त झन् बढी छ ।
काठमाडौं विश्वका प्रदूषित राजधानी सहरमध्ये छैटौं स्थानमा पर्छ । यहाँको वर्षभरको वायु प्रदूषण मापन गर्दा गत वर्ष कुनै दिन औसतसम्म पनि झरेन । वर्षाका बेला केही सुधार भए पनि अन्य समय प्रदूषण खतराकै तहमा पुग्ने गरेको छ । काठमाडौंको यो सर्वकालीक समस्याको मुख्य कारण सवारी साधन, उद्योग कलकारखाना र वन डढेलो लगायत विपद्बाट निस्कने धुँवा र धुलो नै हुन्।
नेपालमा वातावरण संरक्षण र प्रदूषण नियन्त्रणका लागि प्रयास नै नभएका भने होइनन् । वातावरण संरक्षण ऐन, २०७६ मा कसैले पनि मापदण्डविपरीत प्रदूषण गर्न नपाउने व्यवस्था छ। वातावरण क्षेत्र सुधारको रणनीतिक कार्ययोजना २०७८ तथा काठमाडौं उपत्यका वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ मा प्रदूषण नियन्त्रणका लागि विभिन्न योजना प्रस्ताव गरे पनि कार्यान्वयन कमजोर छ।
नेपालको संविधानको धारा ३० मा हरेक नागरिकले सफा र स्वच्छ वातावरणमा बाँच्न पाउने हकको व्यवस्था गरिएको छ । तर, सरकारले भएका कानुन र व्यवस्थाको प्रभावकारी कार्यान्वयन नगर्दा नागरिकको संवैधानिक हकसमेत हनन् भइरहेको छ । त्यसैले सरकारले वायु प्रदूषण निम्त्याउने स्रोतमाथि नियन्त्रण नगर्ने र सर्वसाधारण पनि सचेत नहुने हो भने यसले भयावह रुप लिने निश्चित छ ।