
हलमा प्रदर्शनरत नायक पल शाह र नायिका पूजा शर्माको फिल्म ‘रावायण’को पुनः सेन्सर गरिएको छ ।
दुई-तीन संवादमा र सटमा ब्लर/बिप गरि केन्द्रिय चलचित्र जाँच समितिले सुदर्शन थापा निर्देशित फिल्म ‘रावायण’लाई पिजी सर्टिफिकेट दिएको हो ।
यसअघि फिल्म ‘रावायण’लाई हिंसात्मक दृश्यको प्रशस्त प्रयोग भएको भन्दै केन्द्रिय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले ‘एडल्ट’ सर्टिफिकेट दिएको थियो । जसले गर्दा यो उमेर समूहका दर्शक र बच्चा लिएर गएका अभिभावकहरुले फिल्म हेर्न पाएका थिएनन् । यसले फिल्मको व्यापारमा नै ठूलो असर गरेको थियो ।
रि-सेन्सर गरिएसँगै सोमबार(भोलि) विहानै बाट अब फिल्म ‘रावायण’ १६ वर्ष मुनिका बाल-बालिका लगायत सबै उमेरका दर्शकले हेर्न सक्नेछन । अब १६ वर्ष मुनिका बाल-बालिकाले परिवारका सदस्यका साथ बसेर फिल्म हेर्न पाउने भएका छन् ।
‘रावायण’ले पीजी सर्टिफिकेट प्राप्त गरेपछि अभिनेत्री तथा निर्मात्री पूजा शर्माले खुसी व्यक्त गरेकी छन् । उनले फेसबुकमा लेखेकी छन्, ‘२/३ संवादमा ‘बिप’ र २/३ सटमा ‘ब्लर’ गरी सेन्सर गरेर सहयोग गरिदिनु भएकोमा सेन्सर बोर्डप्रति आभार व्यक्त गर्दछौं ।’ एडल्ट सर्टिफिकेटको नियमका कारण शुक्रबार र शनिबार धेरै दर्शक हलमा पुगेर पनि फर्किएपछि उनी निराश देखिएकी थिइन् ।
सुदर्शन थापा निर्देशित फिल्मको टिजर, ट्रेलर र गीतबाट राम्रै चर्चा बटुलेको फिल्मले हलमा पनि दर्शकको उत्साह जनक साथ पाइरहेको छ ।
यस फिल्ममा पूजा शर्मा र पल शाह मुख्य भूमिकामा छन्। फिल्ममा प्रमोद अग्रहरी, प्रकाश शाह, प्रियंका कार्की, निकीता चण्डक, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल लगायतको अभिनय छ।