२० बैशाख २०८२, शनिबार

कांग्रेस र एमालेले भ्रष्टाचारीलाई बचाउन गठबन्धन बनाए : अध्यक्ष प्रचण्ड

prachanda

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले नेपाली कांग्रेस र एमालेले भ्रष्टाचारबाट बँच्न र भ्रष्टाचारीलाई बचाउन गठबन्धन गरेर सरकार बनाएको बताएका छन् ।

विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले भ्रष्टाचारविरोधी अभियान आफूहरुले चलाइरहेका बेला भ्रष्टाचारीलाई बचाउन र बँच्न नेपाली कांग्रेस र एमाले गठबन्धन गरेको आरोप लगाए ।

नेकपा माओवादी केन्द्र सरकार बनाउने रणनीतिमा लागेको नभएर पार्टी बनाउन लागेको उनले स्पष्ट पारे । सरकार बनाउन कुनै रुची नभएको उनको भनाइ छ । आफूहरुलाई पार्टी पुनःनिर्माणको अवसर मिलेकाले २०८४ सम्म सरकार चलाइराख्न पनि उनले कांग्रेस र एमालेलाई आग्रह गरे ।

भ्रष्टाचारी एवं विचौलियालाई कारबाही प्रक्रिया सुरु गरेपछि आफ्नो नेतृत्वको सरकार सत्ताबाट बाहिरिनुपरेको उल्लेख गर्दै अध्यक्ष दाहालले भने, “माओवादी पार्टी सत्ताबाट बाहिरिएपछि देशव्यापी रुपमा पार्टीको सङ्गठन विस्तार, सुदृढीकरण र पुनःनिर्माणमा गर्न पार्टीलाई अवसर प्राप्त भएको छ, पार्टी सुदृढीकरण अभियानमा साथ दिन सबैसँग अनुरोध गर्दछु ।”

बहुमतका नाममा जथाभावी गर्ने छुट कोही कसैलाई पनि नरहेको स्पष्ट गर्दै अध्यक्ष दाहालले मुलुक र जनता विरोधी काम नगर्न सरकारलाई खबरदारी गरे ।

यस्तै, प्रचण्डले संविधान संशोधनको विपक्षमा आफूहरू नरहेको बताएका छन् । उनले संविधान संशोधनका नाममा जनताको हकअधिकार र प्राप्त उलब्धिलाई मास्ने काम माओवादी पार्टीलाई सह्य नहुने धारणा व्यक्त गरे ।

उत्पीडित वर्ग र समुदायका उत्थानका लागि ल्याइएको समानुपातिक एवं समावेशी व्यवस्था हटाउने भन्ने कुरा कदापि मान्य नहुने भन्दै अध्यक्ष दाहालले माओवादीले सुरु गरेको जनयुद्धबाट नै मधेसी, दलित, मुस्लिम, आदिवासी र जनजातिको अधिकार स्थापित भएको स्पष्ट गरे ।