१ आश्विन २०८१, मंगलवार

प्रहरी आईजीपीको जिब्रो थुत्नुपर्ने सरकारका प्रवक्ता गुरुङको अभिव्यक्ति

gurung

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले विवादास्पद अभिव्यक्ति दिएका छन् ।

प्रेस चौतारी नेपाल गण्डकीले शनिबार पोखरामा गरेको पत्रकार सम्मेलनमा मन्त्री गुरुङले संघीय प्रहरी ऐन कार्यान्वयनमा प्रहरी प्रमुखले असहयोग गरेको सन्दर्भ उठाउँदै आपत्तिजनक अभिव्यक्ति दिएका हुन् ।

मन्त्री गुरुङले संघीय प्रहरी ऐनको विरोध गर्ने त्यही सेक्टरका मानिसहरु धेरै भएको दाबी गर्दै प्रहरी प्रमुखलाई सम्बोधन गर्दै भने, ‘अस्ति प्रहरीको आईजीपीले के भन्यो? म लागू नै गर्दिनँ हुँ गर्छ । त्यस्तो बोल्न पाउने कि नपाउने ? त्यसको जिब्रो थुत्नुपर्थ्यो, मैले भन्दाखेरि ।’

त्यसै अवसरमा मन्त्री गुरुङले वर्तमान सरकार लामो समय नजाने भनी आइरहेका खबरहरूको खण्डन पनि गरे । उनले वर्तमान सरकारले प्रदेशलाई प्रभावकारी बनाउने कानुन ल्याउने जिकिरसमेत गरेका छन् । फरक प्रसङ्गमा उनले सरकारी सञ्चार माध्यम राजा महेन्द्रकालीन ऐनबाट चलिरहेकाले त्यसमा आवश्यक परिमार्जन गर्ने बताए ।