११ बैशाख २०८१, मंगलवार

दाइले नै बहिनीलाई नालामा धकेलि दिए, दाजु पक्राउ

Drowning

भीमदत्त नगरपालिका–१३ की १४ वर्षीया किशोरी नेहा सुनारको नहरमा डुबेर मृत्यु भएको हो । उनी हिजो बेलुका नहरमा डुबेर बेपत्ता भएकी थिइन् ।

दुई दिनदेखि कञ्चनपुरमा अबिरल रुपमा बर्षा भएको थियो । साना ठुला खोलानाला भरिभराउ थिए पानीले ।

आकाशबाट पानी पर्न छाडेपछि बुधबार साँझतिर कञ्चनपुरको भीमदत्त नगरपालिका १३ पिपरैया अछामी बस्तीका स-साना बालबालिकाहरु खेलिरहेका थिए ।

सोही क्रममा भरत सुनारले आफ्नो कान्छा बाबुकी छोरी अर्थात बहिनीलाई नालामा धकेलि दिएका थिए ।

उनले आफ्नो छोरासंगै खेलिरहेकी कान्छाबाबुकी छोरी नेहा सुनारलाई नालामा धकेलि दिएपछि बालिका वेपत्ता भएकी थिइन्।

‘नहरमा पानीको बहाव उच्च थियो,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले भने, ‘पौडिने क्रममा डुबेर वेपत्ता भएकी हुन्, उनी आज मृत फेला परिन् ।’ बालिकाको शव फेला परे लगत्तै उनका ३४ वर्षिय दाजु भरत सुनारलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए ।

‘दाजुले कुटपिट गरी नालामा धकेलेको भन्ने सूचना आएको छ,’ प्रहरी नायब उपरीक्षक थापाले भने, ‘घटनाको अनुसन्धानका लागि मृतकका दाजुलाई नियन्त्रणमा लिएका हौँ ।’

भीमदत्त नगरपालिका १३ का वडाध्यक्ष लालबहादुर शाहीले खेलिरहेका बालबालिकालाई घर ल्याउन नाला नजिक पुगेका भरतले आफ्नै कान्छाबाबुकी छोरी नेहालाई सम्झाउने क्रममा धकेलेका थिए । सो क्रममा बालिका नालामा खसेको बताए ।

‘बालबालिकालाई सम्झाई बुझाई गर्ने तरीका ठीक भएन’ वडाध्यक्ष शाहीले भने, ‘आवेगमा सम्झाउँदा र ध्यान नदिंदा आफनै बहिनी नालामा परिन् ।’

घटनाबारे अनुसन्धान भईरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।