
बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा गरेर देश छोडेकी छन् ।
बिबिसीका अनुसार प्रदर्शनकारीले प्रधानमन्त्रीको निवासमा प्रवेश गरेर तोडफोड गरेपछि उनी देश छोडेर ‘सुरक्षित ठाउँ’ गएकी हुन् ।
मिडिया रिपोर्टका अनुसार शेख हसिना भारतको त्रिपुरा राज्यको राजधानी अगरतला प्रस्थान गरेकी छन् । उनी हेलिकप्टरमा भारत गएकी हुन् । उनी आफ्नी बहिनीलाई साथमा लिएर देश छोडेको बिबिसीले उल्लेख गरेको छ ।
आइतबार भएको प्रदर्शनमा सयभन्दा बढीको मृत्यु भएपछि बंगलादेशमा प्रदर्शनले उग्र रुप लिएको थियो ।
प्रदर्शनकारीले लुटे प्रधानमन्त्री निवास
प्रधानमन्त्री शेख हसिनाले देश छोडेसँगै प्रदर्शनकारीले प्रधानमन्त्री निवासमा तोडफोड गरेर लुटपाट गरेका छन् ।
हसिनाले राजीनामा दिएपछि प्रदर्शनकारीहरू ढाकास्थित प्रधानमन्त्री निवासमा प्रवेश गरेका थिए । प्रधानमन्त्रीको निवास प्रवेश गरेर प्रदर्शनकारीले प्रधानमन्त्री निवासका सामानहरू लागेका थिए ।
स्थानीय समाचार च्यानलमा देखाइएको तस्विरमा प्रधानमन्त्री निवासबाट सोफा, कुर्सी बोकेर मानिसहरु बाहिर निस्किदै गरेको देख्न सकिन्छ ।
बंगलादेशमा गत महिनादेखि विद्यार्थीहरू आन्दोलनमा थिए, उनीहरूको पहिलो माग सरकारी जागिरमा आरक्षण खारेज गर्ने थियो । पछि उनले प्रधानमन्त्री पदबाट शेख हसिनाको राजीनामा माग गरेका थिए ।
प्रदर्शन चर्किएपछि हसिनाले राजीनामा दिएर देश छोडेकी छन् । उनी हेलिकप्टरबाट देश छोड्दै भारतको अगरतला शहर पुगेकी छन् ।
प्रधानमन्त्री हसिनाले राजीनामा दिएर देश छोडेपछि सेना प्रमुख जनरल वकार उज जमानले राष्ट्रका नाममा सम्बोधन गर्दै जनतालाई शान्ति कायम राख्न अपील गरेका थिए । उनले देशमा अब अन्तरिम सरकार गठन हुने समेत बताएका छन् । उनले सेना र पुलिसलाई गोली नचलाउन आदेश दिएका छन् ।
अन्तरिम सरकार बन्ने
प्रधानमन्त्री हसिनाले राजीनामा दिएर देश छोडेपछि अब अन्तरिम सरकार बन्ने भएको छ । देश छोड्दा उनकी बहिनी शेख रेहाना पनि साथमा थिइन् । हसिना हेलिकप्टरमा भारतीय सहर अगरतला पुगेकी छन् ।
प्रधानमन्त्री हसिनाले देश छोडेपछि सेना प्रमुख जनरल वकार–उज–जमानले सञ्चारमाध्यमलाई सम्बोधन गर्दै बंगलादेशमा अन्तरिम सरकार बन्ने बताएका छन् । अहिले नयाँ सरकार गठन गर्न छलफल भइरहेको मिडिया रिपोर्टमा बताइएको छ ।
बंगलादेशको राजधानी ढाकामा रहेको प्रधानमन्त्री शेख हसिनाको सरकारी निवासमा हजारौं प्रदर्शनकारीले आक्रमण गरेका थिए । बंगलादेशमा आरक्षणलाई लिएर चलिरहेको आन्दोलन सोमबार थप व्यापक भएको छ ।
विद्यार्थी नेताहरुले दिएको ‘लङ मार्च टु ढाका’ को आह्वानमा हजारौं मानिस ढाकाको उपनगरीय इलाकातर्फ र्याली गरिरहेका छन् ।
गत महिनादेखि जारी रहेको सरकार विरोधी प्रदर्शनकारी र सुरक्षा बलबीचको झडपमा झण्डै ३०० जनाको मृत्यु भएको छ । आइतबार मात्र कम्तीमा ९० जनाको मृत्यु भएको छ ।
